लक्ष्मीपूजाका दिन देशैभर उज्यालो बनाउन कुलमान आफै फिल्डमा, यो वर्ष बिजुलीको मागमा कमी

 कात्तिक २१, २०७५ बुधबार १९:४९:४७ | अर्जुन पोख्रेल
unn.prixa.net

झिलिमिली बनाइएकाे नेपाल विद्युत प्राधिकरणकाे केन्द्रीय कार्यालय तस्बिर - मिलन पाण्डे

काठमाडौं – गएको वर्षको तिहारमा भन्दा यो वर्ष बिजुलीको मागमा कमी आएको छ । 

वर्षकै सबैभन्दा धेरै बिजुलीको माग हुने लक्ष्मीपूजाको दिन आज बेलुका देशभर ११ सय ५ मेगावाट बिजुलीको माग रहेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । 

पोहोर साल लक्ष्मीपूजाका दिन ११ सय ६५ मेगावाट बिजुलीको माग थियो । यो वर्ष प्राधिकरणले १३ सय ५० मेगावाटसम्म बिजुलीको माग धान्ने गरी तयारी गरेकोमा जम्मा ११ सय ५ मेगावाट मात्रै माग भएको छ । कम बिजुली खपत गर्ने बल्बको प्रयोग गरेकाले पोहोरको तुलनामा माग घटेको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिनुभयो ।

यस्तै गर्मी सकिएको र जाडो सुरु नहुँदा विद्युतीय सामग्रीको कम प्रयोगले पनि बिजुलीको माग घटेको प्राधिकरणले जनाएको छ । आज विद्युत प्राधिकरणबाट ४ सय ३९ मेगावाट, निजी क्षेत्रले उत्पादन गरेको ३ सय ४१ र भारतबाट ३ सय २५ मेगावाट बिजुली आयात भएको छ । 

कुलमान घिसिङ आफै भार प्रेषण केन्द्रमा

नेपाल विद्युत प्राधिकणका कार्यकारी प्रमुख कुलमान घिसिङले अहिले आफै भार प्रेषण केन्द्रमा बसेर देशैभरिको विद्युत माग र आपूर्तिको निरीक्षण गरिरहनुभएको छ । घिसिङले काठमाडौंको स्युचाटारमा रहेको भार प्रेषण केन्द्रमा बसेर देशैभरिका ठुला जलविद्युत केन्द्रबाट उत्पादन भएको बिजुली, भारतबाट आयात भएको बिजुली, तथा मागको बारेमा जानकारी लिइरहनुभएको हो ।

कतै केही गडबढी भएर लोडसेडिङ भएमा समस्या समाधान गर्न उहाँले तत्कालै निर्देशन दिने प्राधिकरणले जनाएको छ । आज देशैभरि उज्यालो राख्न कुनै कसर बाँकी नराख्ने प्राधिकरणले जनाएको छ । त्यसका लागि ठूला जलविद्युत केन्द्र, सवस्टेशन र वितरण केन्द्रमा कर्मचारी र प्राविधिक सामग्री तयार अवस्थामा राखिएको छ । आज वर्षभरिकै सबैभन्दा धेरै विद्युत माग हुने दिन हो । 

२ ठाउँमा केहीबेर बिजुली बन्द

प्राधिकरणले देशैभर बिजुली जान नदिन प्राविधिक र सामग्री तयारी अवस्थामा राखेको छ । तैपनि २ ठाउँमा भने साँझ बत्ती गएको छ । पर्वतको मोदी गाउँपालिकामा एक व्यक्तिले जथाभावी रुख काट्दा तार चुँडिएको थियो, र केहीबेर बिजुली बन्द भएको थियो । यस्तै काठमाडौंको गौरीघाटमा बाँदरले तार चुडाउँदा २४ मिनेट बत्ती गएको थियो । त्यहाँ तत्कालै प्राधिकरणका कर्मचारी पुगेर मर्मत गरेका थिए । 
 

अन्तिम अपडेट: बैशाख ७, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया