जुम्लाका खोप्रेवासी किन खेल्दैनन् देउसी–भैलो ?

भोट माग्न समेत नगएको खोप्रे गाउँमा देउसी–भैलो खेल्न पनि कोही गएनन्

 कात्तिक २२, २०७५ बिहिबार ९:४०:३६ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

जुम्ला – नेपाली हिन्दू धर्मावलम्बीको दोस्रो महान् पर्व तिहारले नेपालभर रमझम गराउँदा तिला गाउँपालिका–९ जुम्लाको खोप्री गाउँवासीमा भने यो पर्वको कुनै रौनक छैन ।

यतिखेर त्यहाँका समुदायले वर्षेबाली भण्डार गरिसके पनि अहिले उनीहरू चिसोबाट गाईबस्तुलाई जोगाउन घाँसपात जम्मा गर्ने र हिउँदे समयका लागि दाउरा तथा स्याउला सोत्तर जोहो गर्न तल्लिन छन् ।

निरन्तर आफ्नो काममा तल्लीन उनीहरुको दीपावली गाउँ शहरको जस्तो छैन । उक्त गाउँपालिकाको प्रशासनिक केन्द्रबाट पाँच र जुम्ला सदरमुकामबाट ११ घण्टा पैदलयात्रा हिँड्नुपर्छ । अहिलेसम्म दीपावली गर्ने, देउसी–भैलो खेल्ने कोही पनि त्यहा नपुगेको स्थानीयवासी बलवीर थापाले बताउनुभयो ।

‘हामीले आजका दिनसम्म देउसी, भैलीको सगुन कसैलाई दिनसम्म पाएका छैनौँ’, उहाँले भन्नुभयो, ‘न त्यहाँ अहिलेसम्म देउसी भैलो गएका छन्, न त भोट माग्ने राजनीतिक दलका नेताहरु नै आउँछन् ।’

उहाँको गुनासो थियो, ‘प्रकृतिले खोप्रीवासीलाई ठगेकै थियो अझै त्यसमा वर्षमा एक पटक आउने पर्व दीपावलीको मनोरञ्जन साटासाट गर्नसमेत पाउँदैनौँ । बाउन्न घरधुरी रहेको हाम्रो अवस्था के छ भन्ने बुझ्नसमेत अहिलेसम्म राज्यका कुनै पदाधिकारी आइपुगेका छैनन् ।’

अर्का स्थानीयवासी कालीबहादुर थापाले भन्नुभयो, ‘हाम्रा निम्ति राज्य चरीको दूतजस्तै भएको छ । सरकार कहाँ छ, न हामीलाई थाहा छ, हामी कहाँ छौँ, न सरकारलाई वास्ता छ ।’ राजनीतिक, सामाजिक र शैक्षिक निकायमा यहाँको मान्छे उच्च पदमा नपुगेकाले आजसम्म आफूहरु उपेक्षित भएको र विकासका हिसाबले पनि पछि पारिएको उहाँको आरोप थियो ।

सोही स्थान निवासी गोरीकला रावतले पुर्खौंदेखि अन्न उत्पादन र भेडाबाख्रा पालनमै हामीले पसिना बगाएर जीवन गुजारिरहेका छौँ । दीपावलीमा नाच्ने गाउँने भन्ने कुरा आफ्ना लागि धेरै टाढाको विषय भएको उहाँले बताउनुभयो । सोही वडाका वडाध्यक्ष अग्नि बोहोराले भन्नुभयो, ‘खोप्रीगाउँ शिक्षा, स्वास्थ्य, खानेपानी, सडक, विद्युत् र सञ्चार सबैमा पछि परेकाले पाँच वर्षभित्र सबै पूर्वाधार जोड्ने योजनाका साथ लागि परेको छु ।

यसका लागि स्थानीय सरकारका प्रमुख र स्थानीय समुदाय दुवैको सहयोग चाहिन्छ ।’ 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया