भैलो खेल्न हिँडेको जीप दुर्घटना, २० जना घाइते

 कात्तिक २२, २०७५ बिहिबार १५:३:४२ | हेमराज शर्मा
unn.prixa.net

दाङ – दाङमा भैलो खेल्न जाँदै गरेका व्यक्तिहरु चढेको जीप दुर्घटना हुँदा २० जना घाइते भएका छन् । 

तुलसीपुर उपमहानगरपालिका –७, राजापुरमा लु १ च ७५१६ नम्बरको जीप दुर्घटना हुँदा भैलो खेल्न जाँदै गरेका २० जना घाइते भएका हुन् ।

तुलसीपुर बजारबाट आदर्श युथ क्लबको टोली पर्सेनीमा भैलो खेल्न आउँदै गरेको त्यो जीप तीव्र गतिका कारण दुर्घटनामा परेको प्रत्यक्षदर्शीले बताएका छन् । 

केही घाइतेहरुको राप्ती अञ्चल अस्पताल तुलसीपुरमा उपचार भैरहेको छ भने केहीको घोराही र नेपालगञ्ज रिफर भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय घोराहीले जनाएको छ । दुर्घटना पछि जीप चालक फरार भएका छन् । घाइतेमध्ये अहिलेसम्म तीन जनाको मात्रै परिचय खुलेको छ । 

तुलसीपुर उपमहानगरपालिका –७, झुमारेकी १८ वर्षीया कामना भुसालको टाउकोमा चोट लागेको र त्यसै ठाउँका २४ वर्षीय सुदन चौधरीलाई तुलसीपुरमा प्रारम्भिक उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । 

यसैगरी वर्षीया सरस्वती भट्टराईको प्रारम्भीक उपचारपछि थप उपचारका लागि राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा ल्याइएको ट्राफिक प्रहरी कार्यालय सञ्चार शाखाका प्रहरी हवल्दार डिमबहादुर थापाले जानकारी दिनुभएको छ ।

अन्तिम अपडेट: चैत २३, २०८०

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया