मिटरब्याजसम्बन्धी ५ हजार निवेदन मिलापत्रबाट टुङ्गियो, ऋण लेनदेनलाई व्यवस्थित  बनाउन आयोगको सुझाव

 मंसिर २७, २०८० बुधबार ७:१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – अनुचित लेनदेन (मिटरब्याज) सम्बन्धी जाँचबुझ आयोगले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सुझाव सहितको प्रतिवेदन बुझाएको छ । सरकारले गएको चैतमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा आयोग गठन गरेको थियो । आठ महिनाको अध्ययन र कामपछि आयोगले हिजो प्रतिवेदन बुझाएको हो ।

आयोगमा झण्डै २८ हजार पीडितहरूले निवेदन दिएका थिए । त्यसमध्ये मधेशका ८ जिल्लाबाट २१ हजार ५५२ र पश्चिम नवलपरासीबाट १ हजार ८६२ निवेदन परेका थिए । आयोगका अनुसार यसबीच २१८ बिघा, १० कठ्ठा, ७ धुर जग्गा साहुबाट पीडितलाई फिर्ता गराइएको छ । पीडित र साहुबीच ५ अर्ब ५७ करोड १९ लाख रुपैयाँको लिखत कारोबार भएको तर साहुहरूले ७ अर्ब ६२ करोड ८० लाख रुपैयाँ असुल हुन बाँकी रहेको भनेको आयोगको प्रतिवेदनमा उल्लेख छ ।

त्यसमध्ये १ अर्ब ७२ करोड ८६ लाख रुपैयाँको कारोबार दुवै पक्षको सहमतिमा टुँगिएको छ । कुल निवेदनमध्ये ५ हजार १८८ निवेदन मिलापत्र भएर फर्छ्याैट भएको आयोगले जानकारी दिएको छ । आयोगले मिटरब्याजपीडितका मुद्दा सम्बोधनको लागि जिल्ला प्रशासन कार्यालयमार्फत नै काम गर्न सुझाव दिएको छ ।

यस्तै ऋण लिने दिने व्यवस्थालाई व्यवस्थित बनाउने, सरकारी अनुदानको दुरुपयोग रोक्ने, विपन्नलक्षित कार्यक्रम बनाउने, वैदेशिक रोजगारीमा जानेले लिने ऋणका सन्दर्भमा बैङ्कले नै भुक्तानी दिने गरी व्यवस्था गर्न पनि आयोगको सुझाव छ ।

त्यस्तै स्थानीय रूपमै कोष खडा गर्न, वैदेशिक रोजगारी कोषमा थन्किएको रकम वैदेशिक रोजगारीमा जानेका लागि  व्यवस्था गर्न, श्रमिकको बीमा, स्वास्थ्यसहितका व्यवस्था र कार्ड देखाउने बित्तिकै उपचारको व्यवस्था गर्न पनि आयोगले सुझाव दिएको छ ।

अब अनुचित लेनदेनको उजुरी तथा समस्यालाई गृह मन्त्रालय र जिल्ला प्रशासन कार्यालयहरूले टुंगो लगाउने छन् । आयोगको प्रतिवेदन बुझेलगत्तै प्रधानमन्त्री प्रचण्डले यसको कार्यान्वयनका लागि गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई हस्तान्तरण गर्नुभएको छ । संसद्ले मिटरब्याज सम्बन्धी कानुन बनाएर कार्यान्वयनमा आइसकेको छ ।

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया