नारायणगढ–मुग्लिन सडक आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द गरिँदै

 पुष ७, २०८० शनिबार ७:१६:८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नारायणगढ–मुग्लिन सडक खण्ड आजदेखि तीन हप्ता दैनिक चार घण्टा बन्द हुँदैछ । यो सडक खण्डको तुइन खोलामा पुल बनाउन दैनिक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सडक बन्द गरेर काम गर्न लागेको नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) ले जनाएको छ ।

आजदेखि दैनिक चार घण्टा गाडी रोकिनेछन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन) का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक गाडी पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान दश बजेर ४० मिनेटसम्म चलाउन पाइने छ । त्यस्तै, मालवाहक गाडी भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान साढे १० बजेसम्म मात्र चलाउन पाइनेछ ।

काठमाण्डौबाट छुटेका यात्रुवाहक गाडी मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान दश बजेर ५५ मिनेटसम्म तथा मालवाहक दश बजेर ४५ मिनेटसम्म मात्र चलाउन पाइनेछ । त्यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक गाडी बिहान दश बजेर ५५ मिनेटसम्म बेनिटारदेखि पावरहाउससम्म र मालवाहक बिहान दश बजेर ४५ मिनेटदेखि सत्रसय फाँटमा रोकिनेछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा गाडी रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ती क्षेत्रमा ट्राफिक जाम हुन सक्ने अवस्था छ । अघिल्लो वर्षपनि यो सडक खण्डमा पुल निर्माणका लागि पुस ५ गतेदेखि सडक बन्द गरेर पहाडको भित्ता काट्ने काम गरिएको थियो । तुइन खोलमा ६० मिटर अग्लो पहाडमध्ये अघिल्लो वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको सूचना अधिकारी आचार्यले बताउनुभयो । यो सडकका १९ वटा पुलमध्ये चारवटा चार वर्ष अघि निर्माण भएका हुन् ।

आयोजनाले यो सडक खण्डमा प्याकेज बनाएर पुल निर्माणको काम गर्दै आएको छ । थप आठ वटा पुल दुई महिनाभित्रमा सञ्चालनमा ल्याउने गरी काम भइरहेको छ । ती पुलको पहुँच मार्गको काम मात्र बाँकी छ।

काली, नम्सी, रिग्दी, सिमलताल, भोर्ले, खोर, खहरे र जुगेडी पुल दुई महिनाभित्रमा सञ्चालनमा आउने आयोजनाले जनाएको छ । तुइन खोलाको पुल निर्माणका लागि भित्तो विस्फोट गर्नुपर्ने भएकाले केही समय लाग्नेछ । यो पुल निर्माणका लागि पहाड नै काट्नुपर्ने भएपछि आजदेखि सडक बन्द गर्ने यसअघि सहमति भएको थियो ।

तीन हप्ता सडक बन्द गरेर पहाड काट्ने र पुलका लागि फाउण्डेशन तयार गर्ने निर्णय भएको चितवनका प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापाले जानकारी दिनुभयो । नारायणगढ–मुग्लिन सडक काठमाण्डौ भित्रने र बाहिरिने मुख्य सडकका रुपमा रहेको छ । यो सडक हुँदै दैनिक १० हजारभन्दा धेरै गाडी गुड्छन् । 

अन्तिम अपडेट: मंसिर ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया