गोडिनको अन्तिम समयकाे गाेलले जितायाे एट्लेटिको मड्रिडलाई

 कात्तिक २५, २०७५ आइतबार ८:४५:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

स्पेनिस ला लिगामा एट्लेटिको मड्रिड दोस्रो स्थानमा उक्लिएको छ । डिएगो गोडिनको इन्ज्युरी समयको गोल निर्णायक बन्दा एट्लेटिकोले एथ्लेटिक बिल्बाओलाई ३–२ ले हरायो ।

मड्रिडमा भएको खेलमा बिल्वाओका लागि इनाकी विलियम्सले दुई गोल गरेका थिए । ३६औं मिनेटमा विलियम्सले गोल गर्दै बिल्वाओलाई अग्रता दिलाएका थिए । ६१औं मिनेटमा थोमस पार्टीले गोल गर्दै एट्लेटिकोलाई खेलमा फर्काएका थिए ।

तर त्यसको तीन मिनेटपछि नै विलियम्सले ब्यक्तिगत दोस्रो गोल गर्दै बिल्वाओलाई पुनः अग्रता दिलाए । ८०औं मिनेटमा पार्टीको पासमा रोद्रिगो हर्नाण्डेजले एट्लेटिकोका लागि गोल गरेपछि खेल २–२ गोलको बराबरीमा पुगेको थियो ।

इन्ज्युरी समयको पहिलो मिनेटमा एन्ट्वान ग्रिजम्यानको पासलाई हेडमार्फत गोडिनले गोल गरेका थिए । तर सो गोललाई रेफ्रीले मान्यता नदिएपछि भिडियो एसिस्टेन्ट रेफ्रीको प्रयोग भएको थियो । जसलाई भारले गोल करार गर्‍यो र एट्लेटिकोले गुमाइसकेको अंक खोस्न सफल भयो ।

जितसँगै एट्लेटिको मड्रिडले शीर्ष स्थानको बार्सिलोनासँगको दूरी एक अंकमा झारेको छ । एक खेल कम खेलेको बार्सिलोना २४ अंक सहित शीर्ष स्थानमा छ भने एट्लेटिकोको १२ खेलबाट २३ अंक भएको छ । बिल्वाओ भने १० अंक सहित १७औं स्थानमा छ ।

अन्तिम अपडेट: चैत १, २०८०

तपाईको प्रतिक्रिया