कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी

 पुस २४, २०८० मंगलबार ७:१०:४९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - नेपालमा पनि कोरोना भाइरसको नयाँ रुप जेएन वान पुष्टि भएपछि नाकामा उच्च निगरानी थालिएको छ । कोरोना पुष्टि भएका १६ जनाको जिनोम सिक्वेन्सिङ गर्दा ७ जनामा नयाँ भेरियन्टको सङ्क्रमण पाइएको हो ।

छिमेकी देश भारत र चीनसहित विश्वका विभिन्न देशमा यसअघि नै ओमिक्रोन भेरियन्टको परिवर्तित स्वरूप जेएन वान देखिएको थियो ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार नयाँ सबभेरियन्टको जोखिमलाई ख्याल गरी सीमा नाकाहरूमा आवश्यक स्क्रिनिङ र निगरानी गर्न थालिएको छ ।

प्रवेश बिन्दुका सम्पूर्ण हेल्थ डेस्क र स्वास्थ्य कार्यालयहरूमार्फत् स्क्रिनिङ र निगरानी निरन्तर गर्न अनुरोध गरिएको उहाँले जानकारी दिनुभयो । स्वास्थ्य मन्त्रालयले सङ्क्रमितको उपचार व्यवस्थापनका लागि तयारी अवस्थामा रहन पनि अस्पताल तथा स्वास्थ्य संस्थाहरूलाई अनुरोध गरेको छ ।

विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) ले जेएन वान भाइरस तत्कालका लागि कम घातक तर तीव्र गतिमा फैलने जनाएको छ । यसको सङ्क्रमण हुँदा ज्वरो आउने, शरीर काम्ने, थकान महसुस हुने, नाकबाट पातलो पानी बग्ने, खोकी लाग्ने, घाँटी तथा टाउको दु:ख्ने र सास फेर्न अप्ठ्यारो हुनेलगायतका लक्षणहरू देखिन सक्ने डाक्टरले बताएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार अहिले काठमाण्डौ, चितवन, पोखरा, धनगढीलगायतका सहरी क्षेत्रमा सङ्क्रमण देखिएको छ । स्वास्थ्य मन्त्रालयले नयाँ भेरियन्टको सङ्क्रमण र यसको फैलावट रोक्न जनस्वास्थ्यका सबै मापदण्ड पालना गर्न अनुरोध गरेको छ । सकेसम्म भीडभाडमा नजान, भौतिक दूरी कायम गर्न, मास्कको प्रयोग गर्न र साबुन पानीले हात धुन र अरुलाई पनि यी मापदण्ड पालना गर्न लगाउन भनिएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया