म्यानचेस्टर सिटी शीर्ष स्थानमा कायमै, हार्‍याे युनाइटेड

 कात्तिक २६, २०७५ सोमबार ७:२:० | उज्यालो सहकर्मी

इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले शीर्ष स्थानमा आफूलाई कायमै राखेको छ । 

अाइतबार राति भएको म्यानचेस्टर डर्बीमा युनाइटेडलाई ३–१ गोलअन्तरले हराउँदै सिटीले शीर्ष स्थानमा दुई अंकको दूरी कायमै राखेको हो ।

उसको १२ खेलबाट ३२ अंक छ भने दोस्रो स्थानको लिभरपुलको समान खेलबाट ३० अंक छ । अाइतबार राति घरेलु मैदानमा डेभिड सिल्भाको गोलमार्फत सिटीले अग्रता लिएको थियो । १२औं मिनेटमा बर्नाण्डो शिल्भाको पास सदुपयोग गरी सिल्भाले गोल गरेका थिए ।

दोस्रो हाफको सुरुमै सर्जियो एग्यूरोको गोलमार्फत सिटीले अग्रता दोब्बर बनायो । ५८औं मिनेटमा एन्थोनी मार्सलले पेनाल्टीमार्फत गोल गरी सिटीसँगको अग्रता छोट्याउने प्रयास गरे । युनाइटेडका रोमेलु लुकाकुलाई सिटीका एडर्सनले फल गरेपछि पेनाल्टी दिइएको थियो । खेल सकिनु ४ मिनेटअघि गुण्डोगानले गोल गरी सिटीलाई ३–१ को जित निश्चित गराए ।

अाइतबार राति नै भएका अन्य खेलमा आर्सनलले वोल्भरह्याम्प्टनसँग एक एक गोलको बराबरी खेल्दा चेल्सीले आफ्नै मैदानमा एभर्टनसँग गोलरहित बराबरी खेल्यो । लिभरपुलले भने लिगको पुच्छारमा रहेको फुलह्यामलाई २–० ले हरायो । लिभरपुलका लागि मोहम्मद सलाह र जदरान शाकिरीले गोल गरेका थिए ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया