नेपाल बैंकले ३२ प्रतिशत बोनस दिन सक्ने

 जेठ २७, २०७५ आइतबार १४:५०:५० | अर्जुन पोख्रेल

काठमाडौं – नेपाल बंैकले पछिल्लो तीन वर्षमा आर्थिक हिसाबले आफू निकै बलियो बनेको दाबी गरेको छ ।

काठमाडौंमा भएको पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्रप्रताप शाहले पछिल्लो समय नेपाल बैंकले आम्दानी र सेवामा ठूलो फड्को मारेको दाबी गर्नुभयो । नेपाल बैंकसँग अहिले ८ अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको र अब थप शेयर अर्थात एफपीओ जारी गरेपछि चुक्त पूँजी ९ अर्ब रुपैयाँभन्दा धेरै पुग्ने उहाँले जानकारी दिनुभयो ।

बैंकले पछिल्ला ३ वर्षमा कर्जा प्रवाह ५० अर्ब रुपैयाँबाट ८० अर्ब रुपैयाँ पुर्‍याएको पनि दाबी गरेको छ । यस्तै खुद ब्याज आम्दानी पनि ३ वर्षमा १ सय ९ प्रतिशतले बढेर ४ अर्ब ५९ करोड रुपैयाँ पुगेको छ । पछिल्ला ३ वर्षमा बैंकको सञ्चालन मुनाफा ऋणात्मक रहेकोमा पछिल्लो ९ महिनामा ३ अर्ब १२ करोड रुपैयाँ मुनाफा आर्जन भएको नेपाल बैंकले जनाएको छ ।

यस्तै बैंकको पछिल्लो ९ महिनाको खुद नाफा २ अर्ब ५५ करोड रुपैयाँ रहेको र यो आर्थिक वर्षमा ३ अर्ब पुग्ने जनाएको छ । नेपाल बैंक खुद मुनाफा कमाउने र सञ्चालन नाफा गर्ने चौथो ठूलो बैंक बनेको पनि शाहले दाबी गर्नुभयो । यस्तै निष्कृय कर्जाको अनुपात पनि ४ दशमलव ४८ प्रतिशतबाट घटेर २ दशमलव ९१ मा झरेको छ । 

१५ अर्ब रुपैयाँको चल अचल सम्पत्ति

नेपाल बैंकले १५ अर्ब रुपैयाँभन्दा धेरैको चल अचल सम्पत्ति रहेको दाबी गरेको छ । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले बैंकको सही मूल्य वासालातमा राख्न मिलेको भए नेपाल बैंकको वित्तिय अवस्था थप सुधार हुने पनि दाबी गर्नुभयो ।

पोखराको फूलबारी होटलमा डुबेको ७५ करोड रुपैयाँ कर्जा असुलीका लागि काम भैरहेको पनि उहाँले जानकारी दिनुभयो ।

३२ प्रतिशतसम्म बोनस दिन सकिने

बैंकका कार्यकारी अधिकृत शाहले नेपाल बैंकले ३२ प्रतिशतसम्म बोनस दिन सक्ने बताउनुभएको छ । केही दिनमै आउन लागेको एफपीओले बैंकको आर्थिक अवस्था थप सुधार हुने र लाभांश दिन सक्ने क्षमता हुने पनि उहाँले बताउनुभयो ।

एफपिओबाट संकलन हुने १ अर्ब ७६ करोड चुक्ता पूँजीमा थपिने र  ३ अर्ब १६ करोड रुपैयाँ सञ्चित कोषमा थपिने बैंकले जनाएको छ । थपिएको रकमबाट नयाँ र पुराना शेयर धनीलाई ३२ प्रतिशतसम्म बोनस दिन सकिने प्रमुख शाहले बताउनुभयो । 

२५ शाखा थपिने, २५ वटा शाखा स्मार्ट शाखाको रुपमा विकास गरिने 

प्रमुख कार्यकारी अधिकृत शाहले पत्रकार सम्मेलनमा आगामी आर्थिक वर्ष भित्र थप २५ वटा स्थानमा शाखा विस्तार गर्ने योजना सार्वजनिक गनुभयो । बैंकको अहिले १ सय २५ वटा शाखा छन् ।

प्रमुख कार्यकारी अधिकृत शाहले २ वर्ष भित्र बैंकको शाखा २ सय पु¥याउने लक्ष्य लिइएको पनि स्पष्ट पार्नु भयो । २ वर्षअघि पूँजीको अभाव देखाउँदै नेपाल राष्ट्र बैंकले शाखा विस्तारमा रोक लगाएको थियो ।

प्रमुख कार्यकारी अधिकृत शाहले अव पूँजी पुगिसकेकाले बैंकले आवश्यक स्थानमा शाखा खोल्न पाउने भएको पनि स्पष्ट पार्नुभयो । नेपाल बैंकले शाखाहरुलाई ग्राहकमैत्री बनाउन आगामी आर्थिक वर्ष भित्र २५ वटा शाखालाई स्मार्ट शाखाको रुपमा विकास गर्ने योजना पनि बनाएको छ । 

अन्तिम अपडेट: बैशाख ८, २०८१

अर्जुन पोख्रेल

उज्यालोमा कार्यरत अर्जुन पोख्रेल आर्थिक विषयमा कलम चलाउनु हुन्छ।  

तपाईको प्रतिक्रिया