प्रधानमन्त्री ओलीको असली रुप छर्लङ्गै भयो

 कात्तिक २७, २०७५ मंगलबार १७:१५:५५ | राजकिशाेर यादव
unn.prixa.net

काठमाडौं – राष्ट्रिय जनता पार्टीले सरकारलाई दिएको समर्थन फिर्ताका बारेमा पुनर्विचार गर्नुपर्छ भनेरै यो छठपछि सम्मको समय सरकारलाई दिएको छ ।

सरकारलाई समर्थन दिँदै गर्दा पनि हामीले ठूला–ठूला माग राखेका थिएनौँ । हामीले स्थायित्व, शान्ति सुव्यवस्था र सरकारले नै भन्दै आएको समृद्धि नै चाहेका हौँ । 
तर सरकार बनेको आठ महिना बितिसक्न लाग्दा पनि पहिले पहिलेका सरकारले गर्ने काम चलाउ प्रवृत्तिभन्दा फरक रहेन । 

झण्डै दुई तिहाइकै जनमत अहिले नेकपासँग छ । चुनावबाट जनमत प्राप्त भएपछि उनीहरुले अब देशलाई नयाँ डिस्कोर्समा लैजान्छन् भन्ने एक किसिमको हल्ला नै चल्यो । देश र जनताका लागि यदि हित गर्छ भने सरकारलाई समर्थन गर्नुपर्छ भनेर नै हामीले समर्थन गरेका हौँ । तत्कालीन समयमा सरकारको समर्थन गर्नु ठीकै थियो । 

तर अहिलेको अवधिमा आइपुग्दा यही अवस्थामा सरकारलाई समर्थन गरिरहनु अब चाहिँ ठीक छैन भन्नेमै हामी पुगेका छौँ ।  
 
भ्रम चिर्न सरकारलाई समर्थन

राजपा पनि जनमतबाट तेस्रो ठूलो पार्टीको रुपमा स्थापित भएको पार्टी हो । तर हामीले नचाहँदा नचाहँदै पनि देश र जनताको हितका निम्ति हामीले सरकारलाई समर्थन गरेका हौँ । हामीले समर्थन नगरेको भए त्यसैलाई बहाना बनाएर राजपाले हामीलाई समर्थन गरेन त्यसैले हामीले संविधान संशोधन गर्न सकेनौँ ।

विकास गर्न सकेनौँ भन्ने भ्रम छर्ने काम हुन सक्थ्यो । राजपाले विरोधका लागि मात्रै विरोध गर्छ भन्ने खालको भ्रम छर्न सक्थ्यो । त्यसलाई चिर्न पनि सरकारलाई हामीले साथ दिएका हौँ । 

आठ महिनाको अवधिसम्म पनि हामीसँग भएका सहमतिको कार्यान्वयन गर्नु त परको कुरा सरकारले आफूले गर्नु पर्ने दैनिक काम नै अस्तव्यस्त छ । नेपाली नागरिकले यो सरकारबाट धेरै आशा गरेका थिए । तर यो सरकार विगतको सरकारको निरन्तरता भन्दा कुनै उपलब्धि हात पार्ने अवस्थामा देखिएन । शान्ति सुरक्षा, भ्रष्टाचार, दलाली सबै घटनामा सरकार कलंकित बनेको छ ।  

आजको दिनमा पेट्रोलियम पदार्थमा निरन्तरको मूल्यवृद्धि, तरकारी, खाद्यान्नमा भएको वृद्धि, सिण्डिकेटको सट्टा यातायातमा भाडा वृद्धि भएको भयै छ । यो सरकार चौतर्फी माफियाहरुको चंगुलमा छ । सरकारका मन्त्रीहरु एकपछि अर्को काण्डमा मुछिँदै गएका छन् । सरकारले गर्नै पर्ने आधारभूत कामसमेत नगरिरहेका बेला संविधान संशोधनको मुद्धा त अहिले चर्चा गर्ने अवस्थामा नै छैन । 

सरकार असफल हुनु देश नै असफल हुनु हो 

ओली एउटा समुदाय विशेषलाई घृणा गरेर एउटा जनमत लिन सफल भए । उनको त्यही असली रुप पर्दाफास गर्न नै हामीले उनलाई समर्थन गरेका हौँ । अहिलेको अवधिसम्म आइपुग्दा त सरकारको काम कारबाहीले नै उनको रुप छर्लङ्ग पारिदियो नि ।  

राजपाले विरोधका लागि विरोध मात्रै होइन । हामीले पूर्वाग्रही भएर सरकारको विरोध गर्न खोजेको होइनौँ । हामी अहिले पनि सरकार सफल होस् भन्नेमा छौँ । 

यो सरकार असफल हुनु भनेको कहीँ न कहीँ हाम्रो मुलुक असफल हुने हो । हामी अहिले नयाँ व्यवस्थामा छौँ । पहिलो पटक संघीय व्यवस्था कार्यान्वयनको चरणमा छ । हामी सामान्य अवस्थामा छैनौँ । त्यसैले हामीले सरकारलाई साथ दिएका हौँ । तर हामीभन्दा बढी जिम्मेवारीपूर्वक प्रधानमन्त्री र उहाँको दलले बुझ्नु पर्ने थियो । तर दुर्भाग्य बुझ्न सकिरहेका छैनन् ।  

एउटा व्यक्ति प्रधानमन्त्री बन्नका लागि, केही व्यक्ति मन्त्री बन्नका लागि जसरी सामान्य अवस्थामा सरकार चलाइन्छ त्यसरी नै अहिले पनि यो सरकार चलिरहेको छ । यो हुनु भनेको दुर्भाग्यपूर्ण हो ।

सरकारलाई समर्थन गर्दा पार्टीलाई क्षति

हामीले सरकारको खुट्टा तान्न खोजेका होइनौँ । हामी त झन सरकारलाई साथ र सहयोग गर्दै अगाडि लैजान लागिरहेका हौँ । 

हामी त बुझ्दाबुझ्दै पनि सबै पीडा भुलेर यो सरकारलाई बाध्य भएर समर्थन गरिरहेका मात्रै हौँ । मुलुकलाई सफल पार्न हाम्रा कतिपय कुराहरु सम्झौता गरेर अगाडि बढेका हौँ ।  

हामीले सरकारलाई समर्थन दिइरहँदा नागरिक स्तरमा असन्तुष्टि छ । संविधान संशोधनको कुरा अझैसम्म पनि अगाडि बढाउन सकिएको छैन ।  

हामीले त मुलुकको स्वार्थ हेरेर सरकारलाई समर्थन दिएका हौँ । सरकारलाई समर्थन दिँदा आफ्नै दलमा बरु क्षति पुगेको छ । हाम्रा मतदाता असन्तुष्ट छन् । मधेस विरोधी अभिव्यक्ति दिने केपी ओलीलाई नै समर्थन दिनु हाम्रो बाध्यता नै थियो । अब भने हामी अर्को बाटो लिन बाध्य हुने अवस्थामा पुगेका छौँ ।   

संविधान संशोधन हाम्रो माग होइन

सबैभन्दा पहिले त संविधान संशोधन हाम्रो माग होइन । यसलाई त हामीले नेतृत्व मात्रै दिएको हो । यो त राष्ट्रिय माग हो । सबैको माग हो । हाम्रो मात्रै माग हो भन्ने जुन चित्रण गरिएको छ यो ठिक होइन । 

यदि यो संविधानको आयु लम्ब्याउने हो भने यसमा व्यापक संशोधनको आवश्यकता छ । त्यसैले यो केवल राजपा वा मधेससँग मात्रै सरोकार राखेको विषय होइन । यो त समग्रतामा संविधानको भविष्यसँग जोडिएको विषय हो । 

हामी असफल हुनु भनेको कुन शक्ति सफल हुनु हो । त्यो सबैले एक फेर सोच्नै पर्ने छ । त्यसैले हामीले अहिले विचार पुर्‍याउनु जरुरी छ । यो राष्ट्रिय स्वार्थको मुद्धा हो । 

यो मधिसेहरु किन संसदमा छ । यो मधिसेहरु किन काठमाडौंमा छ भन्ने यदि चिन्तनबाट ग्रसित कोही छ भने यसमा मलाई भन्नु केही छैन । तर योजति राष्ट्रघाती, देशद्रोही कोही हुन सक्दैन । 

संविधान संशोधन नगरिकन दुनियाको कुनै पनि शक्तिले यो संविधानको आयु लम्ब्याउन सक्दैन । संशोधन नहुनु भनेको त दुई तीन वर्षभित्र फेरि अर्को संविधान लेखिने परिस्थिति सिर्जना गर्नु हो । 

विगतका संविधानलाई नियाल्ने हो भने पनि ती संविधान फालेर नयाँ संविधान लेखियो । भविष्यमा पनि यही अवस्था ननिम्तेला भन्न सकिँदैन ।  

यो संविधानको आयु छोट्याएर अर्को संविधान लेख्न खोजेको हो भने हामीलाई भन्नु केही छैन । तर यो संविधानको आयु लम्ब्याउने हो भने जति सक्यो छिटो संशोधन गरेर अगाडि बढ्नुको विकल्प छैन ।  

यथास्थितिमा यो संविधान मान्दैनौँ

हामीले यथास्थितिमा यो संविधान मान्दैनौँ । संविधानमा भएका केही व्यवस्थालाई स्वीकार्दै अगाडि बढेका मात्रै हौँ । तर संशोधनबिना हामीलाई मान्य हुने छैन । संविधान जारी हुँदाका बखतबाटै हामीले संविधान संशोधन हुनुपर्छ भन्दै आएका हौँ । 

अहिलेको अवस्थामा आइपुग्दा संविधान सस्वीकार्य बनाउन ब्यापक संशोधनको आवश्यकता छ । मधेसका मुद्धामा मात्रै होइन सबै मुद्धाहरु पुनरावलोकन गर्नु पर्ने बेला आएको छ । 

केहीले संविधान नै मान्दिन भन्ने यो मधिसेहरु किन सरकारमा आउँछ । यो मधिसेहरु किन संसदमा छ । यो मधिसेहरु किन काठमाडौंमा छ भन्ने यदि चिन्तनबाट ग्रसित कोही छ भने यसमा मलाई भन्नु केही छैन । तर योजति राष्ट्रघाती, देशद्रोही कोही हुन सक्दैन । 

राजपा अब एकल अध्यक्ष प्रणालीमा जान्छ

राजपाको अब अध्यक्ष मण्डल हुँदैन । अब हुने महाधिवेशनले सामूहिक नेतृत्व कसरी विधानसम्मत जाने भन्नेमा जान्छौँ । हामी एकल अध्यक्ष प्रणालीमा जान्छौँ । हामी विल्कुल नयाँ सोचका साथ अगाडि बढ्दैछौँ । 

हाम्रो बीचमा सिद्धान्तको बहस तीव्र रुपमा हुन्छ । बादविवाद हुन्छ । पार्टीको औपचारिक निर्णय हुन समय लाग्छ । तर निर्णय भइसकेपछि अहिले सम्म कुनै विवाद भएको छैन । बरु अन्य पार्टीमा निर्णय भइसकेपछि पनि विवाद देखिन्छ । तर राजपामा त्यस्तो हुँदैन । 

-राजपा अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवसँग नवराज फुयाँलले गरेको कुराकानीमा आधारित


 

अन्तिम अपडेट: चैत १४, २०८०

राजकिशाेर यादव

यादव राजपा अध्यक्ष मण्डलका सदस्य हुन् ।

तपाईको प्रतिक्रिया