जिल्ला कृषि विकास कार्यालय खारेज भएपछि कृषि सेवा प्रवाहमा समस्या

 कात्तिक २७, २०७५ मंगलबार १९:२:२४ | उज्यालो सहकर्मी

तेह्रथुम – जिल्ला कृषि विकास कार्यालय खारेज भएसँगै जिल्लामा कृषि प्रसार, प्रविधि सहयोग र तथ्यांक संकलनको काम प्रभावित भएको छ । 

संघीयता कार्यान्वयनसँगै जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत कार्यालयको खारेजीले रोकिएको भन्दै किसानले गुनासो गर्न थालेका छन् । 

गाउँ–गाउँमा सेवा सुविधा पुर्‍याउने नाउँमा सरकारले जिल्लाबाट प्राप्त हुँदै आएको सेवा सुविधासमेत अन्य जिल्लातर्फ लगेको किसानको गुनासो छ । तत्कालीन जिल्ला कृषि विकास कार्यालय गएको साउनमा खारेज भएपछि जिल्लामा कृषि प्रसार र किसानलाई प्राविधिक सहयोगको काम रोकिएको छ । 

किसानले स्थानीय तहबाट कृषिका विभिन्न कार्यक्रमहरुमार्फत सेवा लिए पनि दक्ष कर्मचारी अभावले प्राविधिक सहयोग र कृषि प्रसारसम्बन्धी सेवा पाएका छैनन् । सरकारले सबै स्थानीय तहमार्फत सशर्त कार्यक्रमहरु सञ्चालन गर्ने भन्दै कृषि प्रसार र प्राविधिक सहयोगको सेवाका लागि दुई–तीन जिल्लाका लागि एक स्थानमा ज्ञान केन्द्र स्थापना गर्ने तयारी गरेको छ । तेह्रथुम, धनकुटालगायत जिल्लाका लागि धनकुटामा कृषि ज्ञान केन्द्र स्थापनाको तयारी रहेको छ । 

तर जिल्लाका कार्यालय खारेज भएको वर्षदिनसम्म पनि ज्ञान केन्द्र सञ्चालनमा आएको छैन । तत्कालीन जिल्ला कृषि विकास कार्यालय सञ्चालन भएको कार्यालयमा समेत ताला लगाइएको छ । कार्यालयमा कार्यरत केही कर्मचारीहरुले गएको साउनदेखि तलब भत्ता समेत पाएका छैनन् । करार सेवामा कार्यरत कर्मचारीहरुले खाली पानामा हाजिर गरेर कार्यालय कुर्ने काम मात्रै गर्दै आएका छन् । 

कर्मचारी भएका कार्यालयमा बजेट र कार्यक्रम छैन भने बजेट र कार्यक्रम रहेका स्थानीय तहमा दक्ष कर्मचारी अभावले काम अवरुद्ध हुँदै आएको छ । धनकुटामा ज्ञान केन्द्र स्थापना भएपछि जिल्लामा सम्पर्क केन्द्र सञ्चालन गर्ने तयारी रहेको कृषि ज्ञान केन्द्र धनकुटाका रामजुगन यादवले बताउनुभयो । 

अहिले जिल्ला कृषि विकास कार्यालयमा चार जना कर्मचारीहरु त्यत्तिकै रहेका छन् । कार्यालयमा बजेट र कार्यक्रम नहुँदा जिल्लाको सम्पूर्ण कृषि बाली र कृषि क्षेत्रको तथ्यांक संकलन रोकिएको छ । किसानले कृषिसम्बन्धी प्राविधिक जानकारी र सहयोगसमेत पाएका छैनन् । 

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया