तीनै तहको चुनाव बहिष्कार गरेको तिङ्लामा उपचुनाव हुने

 कात्तिक २७, २०७५ मंगलबार २०:४०:२५ | सुवास दर्नाल

सोलुखुम्बु – ‘नो भोट, नो क्यान्डिडेट’ अभियान चलाएको सोलुखुम्बुको सोलुदूधकुण्ड नगरपालिका –११, तिङ्लामा उपचुनावका लागि सिफारिस गरिएको छ ।  

जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुले देशैभरि उपचुनाव नहुँदा सोलुखुम्बुको तिङ्लामा पनि उपचुनाव हुनुपर्ने प्रतिवेदनसहित सिफारिस गरेको जनाएको छ ।

स्थानीय तह पुनर्संरचनाको बेला आफूहरुलाई पायक पर्ने सोलुदूधकुण्ड नगरपालिकामा नराखी ६ घण्टा टाढा जानुपर्ने नेचासल्यान गाउँपालिकामा राखिएको भन्दै तिङ्लाबासीले तीनै तहको चुनाव बहिष्कार गरेका थिए ।

साविक तिङ्ला गाविस हालको सोलु–दूधकुण्ड नगरपालिका–११, मा स्थानीय तहको चुनावमा उम्मेदवारी नै नपरेका कारण जनप्रतिनिधि चयन भएको छैन ।

तिङ्लाममा उपनिर्बाचन गर्न जिल्ला निर्वाचन कार्यालयले केन्द्रमा विवरण पठाएको जनाएको छ । निर्वाचन कार्यालयले गृह मन्त्रालयमा विवरण पेस गरिसकेको र सरकारले निर्णय गरेमा आफूहरु चुनाव गराउन तयार रहेको जिल्ला निर्वाचन कार्यालय सोलुखुम्बुका प्रमुख मधुकरप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

नेपालका विभिन्न क्षेत्रमा प्रदेश र स्थानीय तहमा जनप्रतिनिधि नभएकाले उप–चुनाव गराउनु पर्ने अवस्था छ । त्यसै समयमा सोलुखुम्बुको तिङ्लामा पनि उप–चुनाव हुने प्रमुख पोखरेलले बताउनुभयो ।

तिङलासहित देशभरमा ३२ जना जनप्रतिनिधिको पद रिक्त रहेको छ । निर्वाचन आयोगका अनुसार प्रदेशसभा सदस्यसहित १८ जनाको मृत्यु तथा केहीको राजीनामा, प्रदेशसभा र जिल्ला समन्वय समितिमा निर्वाचित र फौजदारी अभियोगमा कारागार चलान भएकाले ती पद रिक्त भएका हुन् । 

रिक्त पदमा नेपालको संविधानले व्यवस्था गरेअनुसार उप–चुनाव हुने आयोगले जनाएको छ । ९९५ घरधुरीका करिब ५ हजार जनसंख्या रहेको तिङलामा स्थानीय चुनावमा २६७६ मतदाता थिए, जुन अहिले ३२ सय पुगेको छ ।
 

अन्तिम अपडेट: चैत १४, २०८०

सुवास दर्नाल

उज्यालोका सोलुखुम्बु सहकर्मी सुवास दर्नाल हिमाल एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया