त्रिविको स्नातक कार्यक्रम तीनवर्षे नै बनाइने नवनियुक्त उपकुलपति बरालको घोषणा

 फागुन १२, २०८० शनिबार ६:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा.डा. केशरजङ्ग बरालले स्नातक तहको कार्यक्रमलाई पुनः तीनवर्षे बनाइने जानकारी दिनु भएको छ । विश्वविद्यालयको केन्द्रीय कार्यालयमा हिजो पदबहाली गरेपछि उहाँले चारवर्षे स्नातक कार्यक्रम लामो हुन गएकाले विद्यार्थी र अभिभावकको लगानी बढ्नाका साथै त्रिविको कार्यसञ्चालनमा पनि असहजता थपेको बताउनुभयो ।

त्रिभुवन विश्वविद्यालयले २०७१/०७२ सालदेखि व्यवस्थापन सङ्कायतर्फ चारवर्षे स्नातक कार्यक्रम शुरुवात गरेको थियो । विषयको विशिष्टताका कारण केही विषयका स्नातक कार्यक्रम भने चारवर्षे वा पाँचवर्षे हुनसक्ने उहाँको भनाइ छ । विश्वविद्यालयका केही कार्यक्रममा विद्यार्थी सङ्ख्या अत्यन्त न्यून र केहीमा शून्य रहेको भन्दै उहाँले अहिले मानविकी सङ्कायमा अरू कार्यक्रमको तुलनामा कम विद्यार्थी भर्ना हुने गरेको बताउनुभयो । यसको समाधानका लागि मानविकीलाई सबै सङ्काय र कार्यक्रमबाट आउन मिल्ने गरी पुनःसंरचना गरिने उहाँले जानकारी दिनुभयो ।

यस्तै शिक्षा सङ्कायका कार्यक्रमलाई पनि सबै विषयबाट प्रवेश गर्न मिल्ने बनाइने उहाँको भनाइ छ।उपकुलपति बरालले त्रिविका शैक्षिक कार्यक्रमहरूलाई उत्पादन र बजारसँग जोड्न आफू लागिपर्ने बताउनुभयो । देशको मौलिक र रैथाने ज्ञानलाई विश्वविद्यालयको प्राज्ञिक अध्ययन–अनुसन्धानसँग जोड्नका लागि दीर्घकालीन योजना बनाइने जानकारी पनि उहाँले दिनुभयो । उहाँले थोरै विद्यार्थी भएका र अनावश्यक रूपमा रहेका केन्द्रीय विभाग र क्याम्पसका विभागलाई गाभेर स्कुल मोडलमा लैजाने प्रतिबद्धता पनि जनाउनुुभएको छ ।

त्रिविको चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि ४० केन्द्रीय विभाग गाभेर १७ वटा स्कुल स्थापना गर्ने उल्लेख छ । त्रिविका कतिपय विभागमा विद्यार्थीभन्दा अध्यापकहरूको सङ्ख्या धेरै रहेको छ । उपकुलपति बरालले भने आंगिक क्याम्पसहरूमा रहेका अनावश्यक विभागसमेत गाभेर स्कुल बनाउने घोषणा गरेका हुन् । तत्कालीन शिक्षाध्यक्ष (रेक्टर) शिवलाल भुसाल संयोजक रहेको कार्यदलले ५ वर्षअघि नै स्कुल मोडलमा जान सुझाव दिएको थियो । तर विभागीय प्रमुख र केही डिनहरूका अवरोधका कारण विभाग खारेज हुन नसकेको पूर्वपदाधिकारीको गुनासो छ ।

अन्तिम अपडेट: साउन ११, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया