भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिक स्वदेश फर्काउँदै

 फागुन २६, २०८० शनिबार ६:५४:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – भारतले भोलि माल्दिभ्सबाट आफ्ना सैनिकहरूको पहिलो टोलीलाई स्वदेश फर्काउने बताएको छ । माल्दिभ्स चीनसँग नजिकिएपछि भारतले आफ्ना सैनिकहरू फिर्ता गर्न लागेको बीबीसीले जनाएको छ । माल्दिभ्समा रहेका झन्डै ८० जना भारतीय सैनिकहरूलाई आउँदो मे महिनाभित्र फिर्ता गरिसक्न माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले समयसीमा तोक्नुभएको छ ।

भारतले माल्दिभ्सलाई वर्षौँअघि अनुदानमा दिएका उद्धारमा प्रयोग हुने दुईवटा हेलिकप्टर र एउटा सानोे विमानको मर्मत तथा सञ्चालनका लागि आफ्ना सैनिकहरू तैनाथ गरेको बताउने गरेको छ । तर गएको नोभेम्बरमा निर्वाचित भएका राष्ट्रपति मुइज्जुले भारतीय सेनालाई आफ्नो देशबाट हटाउने निर्णय गर्नुभएको हो ।

अब भारतका गैरसैनिक प्राविधिक कर्मचारीले विमान सञ्चालन गर्ने सहमति भएको छ । माल्दिभ्सबाट हिन्द महासागरका महत्त्वपूर्ण भागलाई निगरानी गर्न सकिने भएकोले भारतले माल्दिभ्समा लामो समयदेखि प्रभाव राख्दै आएको छ । दुई देशबीच राम्रो सम्बन्ध रहँदै आएकोमा पछिल्ला केही महिनायता सम्बन्ध बिग्रिएको हो ।

यही हप्ता माल्दिभ्स सरकारले चीनसँग सैन्य सहायता सम्झौतामा हस्ताक्षर गरेको छ । यसले पाँच लाख भन्दा केही बढी मात्रै जनसङ्ख्या भएको माल्दिभ्समा एसियाली शक्तिराष्ट्रहरूको प्रतिस्पर्धामा फस्ने जोखिम बढेको विश्लेषकहरुले बताएको बीबीसीले जनाएको छ ।

चीनले भने माल्दिभ्समा आफ्नो कुनै पनि दीर्घकालीन सैन्य स्वार्थ र योजना नरहेको दाबी गर्दै आएको छ । अत्यावश्यक खाद्यवस्तु,औषधि र निर्माण सामग्री आयातका लागि माल्दिभ्स भारतमा निर्भर छ । माल्दिभ्समा सबैभन्दा धेरै पर्यटक भारतबाट नै जाने गरेका थिए । तर दुई देशबीचको सम्बन्ध बिग्रिएसँगै भारतीय पर्यटकको सङ्ख्या घटेको छ ।

पर्यटन मन्त्रालयको तथ्याङ्कअनुसार यो वर्षको पहिलो दुई महिनामा माल्दिभ्स भ्रमण गरेका झण्डै चार लाख पर्यटकमध्ये १३ प्रतिशत चिनियाँ रहेका छन् । भारत भने पाँचौँ स्थानमा झरेको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया