सगरमाथा आरोहीका लागि विद्युतीय चिप्स अनिवार्य

 फागुन २६, २०८० शनिबार ७:६:३ | भाेजेन्द्र बस्नेत
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – गएको वर्ष सगरमाथा आरोहणका क्रममा १२ जनाको ज्यान गयो । अरु पाँच जना हराइरहेका छन् । हराइरहेकाहरु कुन क्षेत्रमा वा कस्तो अवस्थामा छन् भन्ने यकिन छैन । उनीहरु बाँच्ने सम्भावना त हुँदैन तर कस्तो अवस्थामा ज्यान गुमाए र शव कस्तो ठाउँमा छ भन्ने यकिन समेत भएको छैन ।

यसैगरी सगरमाथामा हरेक वर्ष कोही न कोही आरोही हराउँछन् । उनीहरुको शव खोज्न कठिन हुँदै आएका छन् । सगरमाथामा आरोही हराउने र हिउँभित्र खोज्न समस्या हुने समस्यालाई कम गर्न सरकारले यही आरोहणयामबाट आरोहीहरूका लागि विद्युतीय चिप्स अनिवार्य गरेको छ । आरोही हराएमा तत्कालै उनीहरु कहाँ छन् भनेर जानकारी लिन र ज्यान गइसकेको अवस्थामा शव खोज्न पनि सजिलो होस भनेर विद्युतीय चिप्स अनिवार्य गरेको पर्यटन विभाग अन्तर्गतको पर्वतारोहण शाखाका निर्देशक राकेश गुरुङले बताउनुभयो ।

पर्वतारोहीका लागि यस्तो चिप्स विभागले सम्बन्धित एजेन्सीमार्फत् उपलब्ध गराउँछ । यसका लागि आरोहीले १० देखि १५ अमेरिकी डलर अर्थात् झण्डै दुई हजार रुपैयाँ सम्म तिर्नु पर्छ । पर्वतारोहीको ज्याकेटमा जडान गरिने विद्युतीय चिप्सले पर्वतारोहण थप सुरक्षित बनाउने आशा छ । तत्काल उद्धारसँगै चिप्स लामो समयसम्म रहने भएकाले शवको खोजीका लागि पनि महत्वपूर्ण हुने गुरुङको भनाइ छ । हिजोआज आरोहीहरूले प्रयोग गर्दै आएका मोबाइल वा जीपीएस उपकरणको ब्याट्री निश्चित समयमा सकिन्छ ।

चिप्सले भने लामो समयसम्म काम गर्ने भएकोले बढी उपयोगी हुने र हिमपहिरोमा परेका समयमा कैयौँ फिट हिउँमुनि आरोही पुरिएको हुनसक्ने अवस्थामा पनि चिप्सबाट पत्ता लगाउन सकिने विभागको दाबी छ । पर्वतारोहीहरूलाई थप सुरक्षित बनाउने विषय भएकाले चिप्स जडान गर्ने निर्णय सकारात्मक रहेको नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाले बताउनुभयो । यस्तो चिप्स युरोप तथा अमेरिका लगायतका देशमा हुने आरोहणमा लामो समयदेखि प्रयोग भइरहेको छ । नेपालमा पनि केही कम्पनीहरुले यसअघि नै प्रयोगमा ल्याएका छन् । तर अब सरकारले सबैका लागि अनिवार्य गरेको हो ।

नेपालका कम्पनीहरुको व्यवस्थापन तथा हिमालमा काम गर्ने जनशक्तिको कामलाई संसारकै आरोहीहरुले रुचाउँछन् । तर पनि हिमालमा जुनसुकै बेला दुर्घटना हुन सक्छ । दुर्घटना पछिको खोजीका लागि उपयोगी हुने विद्युतीय चिप्सको प्रयोगले अन्तर्राष्ट्रिय रुपमा थप सकारात्मक सन्देश जाने नेपाल पर्वतारोहण सङ्घका अध्यक्ष निमानुरु शेर्पाको भनाइ छ । 

सगरमाथा आरोहणमा आरोहीहरूको साथमा अरु गाइड तथा टोली रहने हुँदा दुर्घटना कहाँ भयो भन्ने थाहा हुन्छ । तर हिमपहिरो, हिउँ खाडल, लडेर टाढा पुगेपछि हिउँले पुरिनु लगायतका कारण कतिपय आरोहीहरु हिमालमै हराउँछन् । सुरक्षित हिमाल आरोहण तथा हराउनेहरुको खोजीका लागि पनि विद्युतिय चिप्स महत्वपूर्ण हुने आरोहणको क्षेत्रमा काम गर्नेहरु बताउँछन् ।

आरोहीले चिप्स लगाउने व्यवस्थाका बारेमा केही वर्षदेखि छलफल भइरहेकोमा यसपटकबाट अनिवार्य गरिएको हो । हिउँमा हराएको व्यक्ति कहाँ छ भनेर पत्ता लगाउन समस्या भइरहेका बेला खोज्न उपयोगी हुने चिप्सको प्रयोग अरु हिमालहरूमा पनि अनिवार्य गरिँदै जाने पर्यटन विभागका निर्देशक राकेश गुरुङले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

भाेजेन्द्र बस्नेत

भाेजेन्द्र बस्नेत उज्यालाेमा कार्यरत हुनुहुन्छ।  

तपाईको प्रतिक्रिया