आरती साहका परिवार र सरकारबीच सहमति, आन्दोलन फिर्ता

 फागुन ३०, २०८० बुधबार ६:३९:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – जनकपुरकी २२ वर्षीया आरती साहको ज्यान गएको घटनामा थप अनुसन्धान गरी अदालतमा प्रमाण पेस गर्नेलगायतका विषयमा सरकार र साहका परिवारबीच सहमति भएको छ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको उपस्थितिमा हिजो सरकारी पक्ष र आरती साहका पक्षबीच पाँच बुँदे सहमति भएको हो ।

अदालतमा विचाराधीन मुद्दालाई समेत मध्यनजर गरेर प्राप्त हुने थप प्रमाणलाई अदालतमा पेस गर्ने गरी थप अनुसन्धानको जिम्मा सीआईबीलाई दिने सहमति भएको छ । सहमतिमा अनुसन्धान टोलीले परिवारसँग समन्वय गरेर अनुसन्धान गर्ने र काम शुरु गरेको ४५ दिनभित्र ४ वटा विषयमा जाँच गर्ने भनिएको छ ।

यसअनुसार, साहको कर्तव्य ज्यान सम्बन्धी मुद्दाको अनुसन्धान भएका कमी कमजोरीहरुबारे अनुसन्धान गर्ने र परिवारमाथि प्रहरीबाट भएको कुटपिट र दुर्व्यवहारबारे पनि जाँच गर्ने भनिएको छ । नेपाल मेडिकल काउन्सिल र राष्ट्रिय मानव अधिकार आयोगबाट सार्वजनिक भएको प्रतिवेदनमा उल्लेखित विषय समेतलाई अध्ययन गर्ने सहमतिमा उल्लेख छ ।

त्यसबाट प्राप्त प्रमाणका आधारमा कानुन अनुसार पुनः अभियोजन समेत गर्ने भनिएको छ । साहको परिवारलाई राहत स्वरुप आर्थिक सहायता उपलब्ध गराउन गृह मन्त्रालयले आवश्यक सहजीकरण गर्ने सहमति भएको छ ।

सहमतिसँगै आरती साहका परिवारले न्यायका लागि गर्दै आएको आन्दोलनका कार्यक्रम फिर्ता भएको छ । सहमतिमा सरकारका तर्फबाट गृह मन्त्रालयका सहसचिव नारायणप्रसाद भट्टराई, काठमाण्डौका प्रमुख जिल्ला अधिकारी र उपसचिव एकदेव अधिकारी तथा आन्दोलनकारीका तर्फबाट आरती साहकी आमा निर्मलादेवी साह, दाइ प्रेम साह र मामा सन्तोषकुमार साहले हस्ताक्षर गरेका छन् ।

आरती साहको गत जेठ ७ गते आफ्नै घरमा झुन्डिएको अवस्थामा शव भेटिएको थियो । माइती पक्षले आरतीको आत्महत्या नभइ हत्या भएको दाबी गरेका छन् । उनीहरुले असार १ गतेदेखि आन्दोलन गर्दै आएका थिए । 

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया