काठमाण्डौमा पक्राउ परेका दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगियो

 चैत ३, २०८० शनिबार ६:१७:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सुन तस्करीको अभियोगमा पक्राउ परेका पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनलाई सहकारी ठगीमा अनुसन्धान गर्न बुटवल लगिएको छ । पुनलाई प्रहरीले हिजो काठमाण्डौबाट पक्राउ गरेर हिजै बुटवल लगेको हो ।

गएको साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट बरामद गरिएको झण्डै ६१ किलो सुन प्रकरणका मुख्य आरोपी दावा छिरिङसँग पुनको सम्बन्ध रहेको पाइएको थियो । सुन तस्करीसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदनमा पनि  पुनको संलग्नता रहेको उल्लेख छ ।

सुन तस्करीबारे उनलाई पक्राउ गरेर अनुसन्धान हुँदै गर्दा सहकारी ठगीमा पनि यसअघि नै पक्राउ पूर्जी जारी भएकाले पहिला भैरहवा पठाइएको बुझिएको छ । गितेन्द्रबाबु (जीबी) राईले रुपन्देहीमा सञ्चालन गरेको सुप्रिम सहकारीले ठगी गरेको भन्दै बचतकर्ताले जाहेरी दिएका थिए ।

दिपेश सुप्रिम सहकारीका पूर्वकोषाध्यक्ष पनि हुन् । उनी समेतको संलग्नतामा बचतकर्ताको रकम हिनामिना भएको पाइएपछि जिल्ला अदालत रुपन्देहीले पक्राउ पूर्जी जारी गरेको थियो । सुप्रिम सहकारीका अध्यक्ष ओमप्रकाश गुरुङ र भैरहवा शाखाका व्यवस्थापक दुर्गा चापागाईं पाण्डे यसअघि नै पक्राउ परिसकेका छन् । 

अन्तिम अपडेट: बैशाख १५, २०८१

तपाईको प्रतिक्रिया