हत्याको बारेमा बकपत्र दिने तयारीमा रहेका साक्षीकै हत्या

 कात्तिक २९, २०७५ बिहिबार १६:२३:४६ | शैलेन्द्र महतो

धनुषा – हत्याको मुद्दामा अदालतमा साक्षी दिने तयारीमा रहेका एक वृद्धको हत्या भएको छ । धनुषाको विदेह नगरपालिका –५, मुडिबा बस्ने ६७ वर्षीय मानैर ठाकुरको हत्या भएको प्रहरीले जनाएको छ । 
 
शुक्रबार जिल्ला अदालत धनुषामा एकै गाउँकै एक महिलाको हत्या घटनाको  साक्षी दिने तयारीमा रहेका ठाकुर बुधबार साँझदेखि हराइरहेका थिए । बिहीबार बिहान उनको शव घरनजिकै रहेको समुदायिक विद्यालय पछाडिको खाल्डोमा फेला परेको छ । ठाकुरको आँखा र कञ्चटमा छुरा प्रहार भएको शवको प्रकृतिमा देखिएको प्रहरीले जनाएको छ ।
 
वि.स. २०७४ असोज १० गते साँझ ठाकुरका छिमेकी लक्ष्मी मण्डलकी ५२ वर्षीय श्रीमती माेहनीदेवीको हत्या भएको थियो । बच्चाको विषयमा झगडा हुँदा स्थानीय रामबहादुर मण्डलले कुटपिट गरेपछि घटनास्थलमै गुगनीको ज्यान गएको थियो ।  
 
प्रहरीका अनुसार त्यही हत्याकाण्डमा ठाकुर शुक्रबार जिल्ला अदालत धनुषामा बकपत्र दिने तयारीमा रहेका थिए । स्थानीयका अनुसार गएको आइतबार मण्डलकी श्रीमतीकी हत्याका अभियुक्त रामबहादुर मण्डल र ठाकुरबीच साक्षी दिने विषयमा समान्य भनाभन भएको थियो । 

ठाकुरको हत्या विषयमा थप अनुसन्धान भइरहेको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपालियाले बताउनुभयो । 
 

अन्तिम अपडेट: बैशाख ५, २०८१

शैलेन्द्र महतो

शैलेन्द्र महतो उज्यालोका धनुषा सहकर्मी हनुहुन्थ्यो। 

तपाईको प्रतिक्रिया