जातीय विभेद घटनाका दाेषीलाई कानुनी दायरामा ल्याउन सरकारलाई आयाेगकाे आग्रह

 चैत ८, २०८० बिहिबार १५:१८:५७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले जातीय विभेदका घटनाको सुक्ष्म अनुसन्धान गरी दोषीलाई कानुनी दायरामा ल्याउन सरकारसँग आग्रह गरेको छ ।

‘छुवाछुत तथा जातीय भेदभाव उन्मूलनमा सबै जिम्मेवार बनौँ’ भन्ने मूल नाराका साथ आज ५९ औँ अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवस मनाइँदै छ । दिवसको अवसरमा आयोगले प्रेस विज्ञप्ति प्रकाशित गर्दै समाजमा घट्ने गरेका जातीय विभेद तथा छुवाछुतसम्बन्धी घटनालाई निर्मूल गरी जातीय विभेदमुक्त वातावरणको सुनिश्चित गर्न तीनै तहका सरकारलाई आग्रह गरेको छ । साथै समाजमा कायम रहेको विभेदको अन्त्य गर्ने कार्यमा पूर्ण प्रतिबद्ध हुन पनि राजनीतिक दल, गैरसरकारी सङ्घ–संस्था तथा नागरिकलाई समेत आयोगले अनुरोध गरेको छ ।

सन् १९६० मार्च २१ मा दक्षिण अफ्रिकाको सार्पभिल्लेमा रङ्गभेदविरुद्ध प्रदर्शन दबाउन खोज्दा ठूलो सङ्ख्यामा प्रदर्शनकारीको ज्यान गएको थियो । यस विषयमा विश्वभर आवाज उठेपछि संयुक्त राष्ट्र सङ्घबाट सन् १९६५ मार्च २१ मा सबै किसिमका जातीय भेदभाव उन्मूलन गर्नेसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि जारी भएको थियो । यसै सन्दर्भमा मार्च २१ लाई अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको रूपमा मनाउन शुरु गरिएको हो ।

आयोगले नेपालमा पनि छुवाछुत तथा जातीय भेदभावविरुद्धको दिवस विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया