च्याम्पिन्स लिगमा आज राति ९ खेल
मंसिर ११, २०८१ मंगलबार
काठमाण्डौ – नेपालमा गहुँबालीमा लाग्ने कालो सिन्दुरे रोगको प्रजाति 'यूजी–९९' को 'टीटीकेटीटी' पहिलोपटक पत्ता लागेको छ । राष्ट्रिय बाली रोग विज्ञान अनुसन्धान केन्द्र खुमलटारका वैज्ञानिकले पहिलोपटक यो रोगको प्रजाति नेपालमा पनि देखिएको पुष्टि गरेका हुन् ।
केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार वैज्ञानिकहरुले गएको कात्तिक २२ गते देलखाको दांगढुंगे र खरिढुंगाका क्षेत्रमा गाईवस्तुको आहाराको लागि हरियो घाँसको रुपमा खेती गरिएको गहुँको बोटमा रोगको सर्वेक्षणका क्रममा यो रोगको प्रजाति भेटिएको हो । ती ठाउँका दुईवटा गहुँबारीबाट संकलित नमूनालाई 'ग्लोबल रष्ट रिसर्च सेन्टर' डेनमार्कको प्रयोगशालामा परीक्षण गर्दा 'टीटीकेटीटी' नामक 'यूजी–९९' को प्रजाति देखा परेको हो ।
यूजी–९९ को 'टीटीकेटीटी' प्रजातिले अफ्रिकन देशमा गहुँबालीमा ८० प्रतिशत भन्दा बढी क्षति पुर्याएको पाइएको छ । हालसम्म दक्षिण तथा पूर्वी एसियाका देशमा नदेखिएको यो प्रजाति नेपालमा देखिएकोले यो देशभित्र र बाहिर फैलिएमा भविष्यमा यो क्षेत्रका गहुँबालीमा ठूलो क्षति पुर्याउन सक्ने आँकलन नार्कका वैज्ञानिकले गरेका छन् ।
गहुँमा लाग्ने रोगहरुमध्ये सिन्दुरे प्रमुख रोग हो । यो तीन प्रकारको हुन्छ : तराईमा खैरो, पहाडमा पहेंलो र पहाडमा फाट्टफुट्ट कालो सिन्दुरे रोग देखा पर्छ । नेपालमा यसअघि कालो सिन्दुरे रोगबारे कुनै तथ्य पत्ता नलागे पनि झण्डै २३ वर्षअघि अफ्रिकाको युगाण्डामा यो प्रजातिको व्युत्पत्ति भई गहुँबालीमा ठूलो नोक्सान गरेको थियो ।
त्यसपछि यो प्रजाति इथियोपिया, केन्या, सुडान, इरिट्रया, इजिप्ट हुँदै एसियाका इरान, यमन, ओमन, इराक, जोर्डनलगायतका देशमा फैलिएको देखिन्छ । 'यूजी–९९' लाई टीटीकेएसके नामबाट चिनिने र हालसम्म यसका १५ किसिमका व्युत्पन्न प्रजाति विकसित भइसकेका छन् । ती १५ मध्ये 'टीटीकेटीटी' नेपालमा पनि देखिएको हो ।
यो रोग 'पक्सिनिया ग्रामिनी ट्रिटिसी' नामक ढुसीबाट लाग्ने र यो ढुसी हावाको माध्यमबाट सयौं किलामिटरसम्म फैलिने कुरा पुष्टि भैसकेकोले यो रोगलाई नेपालमा फैलिन नदिन रोगको वृहत् सर्वेक्षण, रोग अवरोधक जातको छनोट र रोग व्यवस्थापन प्रविधि पत्ता लगाउन अध्ययन अनुसन्धान गर्नु जरुरी रहेको वैज्ञानिकले औंल्याएका छन् ।
केन्द्रका प्रमुख सुरज बैद्यकाअनुसार विजय, जिंक गहुँ २, बोलोर्क २०२०, मुनाल, च्याखुरा, डाँफे, वाणगंगा, हिमगंगा, तिलोत्तमा, स्वर्गद्वारी, खुमल शक्ति, आदि जातमा यो प्रजाति अवरोधी क्षमता छ । यी बाहेक अरु अवरोधी जातको विकास गरी समयमै रोगको व्यवस्थापनमा ध्यान दिनुपर्ने वैज्ञानिकको भनाइ छ ।
राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रका प्रमुख डाक्टर कालिकाप्रसाद उपाध्यायकाअनुसार नेपालमा क्षेत्रफलको आधारमा धान र मकैपछि गहुँको स्थान रहेकोमा नेपालमा गहुँको क्षेत्रफल ९५ प्रतिशतभन्दा बढी नेपालमै अनुसन्धानबाट विकास गरिएका जातले ढाकेका छन् ।
विगत ६० वर्षमा गहुँको क्षेत्रफल ७ गुणा, उत्पादन १५ गुण र उत्पादकत्व २ गुणाले बढेको अवस्थामा यस्ता रोगको बेलैमा व्यवस्थापन गर्न सकेमा उत्पादन थप बढाउन सकिने डाक्टर उपाध्यायले बताउनुभयो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।