सङ्घीय संसदको बजेट अधिवेशन आजदेखि

 बैशाख २८, २०८१ शुक्रबार ७:१९:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – सङ्घीय संसद्को बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक दिउँसो २ बजे बस्दैछ । आज पहिलो दिनको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ ।

यही अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ । अघिल्ला वर्षहरुमा बजेट अधिवेशनकै बेलामा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तबारे हिउँदे अधिवेशनमै छलफल भइसकेको छ ।

सङ्घीय संसद सचिवालयले बजेट अधिवेशनको पहिलो दिन आज प्रतिनिधिसभामा शीर्ष नेताहरुलाई सम्बोधन गर्न दिने तयारी गरेको छ । सभामुख घिमिरेले हिजो प्रतिनिधिसभामा रहेका मुख्य पाँच दलका प्रमुख सचेतकहरुलाई छलफलमा बोलाएर अधिवेशनको पहिलो दिन शीर्ष नेताहरुले शुभकामना दिने अभ्यास रहेको भन्दै यसका लागि सहज वातावरण बनाइदिन आग्रह गर्नुभएको छ । तर सहकारीको रकम हिनामिनाबारे गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति गठनको माग गर्दै आएको प्रमुख प्रतिपक्षी कांग्रेसको अडान कायमै रहेकाले बैठक निष्कर्षविहीन भएको छ ।

नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री  लामिछानेलाई संसदमा बोल्न दिने वा नदिने विषयमा आज बिहान धारणा बनाउने जानकारी दिनुभएको छ । कांग्रेसको संसदीय दलको बैठक अहिले बिहान बस्दैछ ।

कांग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको थियो ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया