भारतलाई हराउँदै न्यूजिल्याण्ड विश्वकप क्रिकेटकाे फाइनलमा

 असार २५, २०७६ बुधबार १९:४३:५४ | उज्यालो सहकर्मी
unn.prixa.net

भारतलाई हराउँदै न्यूजिल्याण्ड आईसीसी विश्वकपको फाइनलमा पुगेको छ ।

बुधबार भएको सेमिफाइनलमा भारतलाई १८ रनले हराउँदै न्यूजिल्याण्ड लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुगेको हो । उपाधिका लागि न्यूजिल्याण्डले अष्ट्रेलिया र इंग्ल्याण्डबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

मंगलबार तय भएको खेलको ४६ ओभर एक बलमा न्यूजिल्याण्डले पाँच विकेटको क्षतिमा २११ रन बनाएपछि खेलमा वर्षा हुँदा खेल बुधबारका लागि स्थगित भएको थियो ।

बुधबार न्यूजिल्याण्डले २८ रन बनाउँदा तीन विकेट गुमायो । न्यूजिल्याण्डले ५० ओभरमा ८ विकेट गुमाउँदै २३९ रन बनाएको थियो । न्यूजिल्याण्डका लागि रोस टेलरले सर्वाधिक ७४ रनको योगदान दिए भने केन विलियम्सनले ६७ रन बनाए । अन्य ब्याट्सम्यानको प्रदर्शन उल्लेखनीय रहेन ।

बलिङतर्फ भुवनेश्वर कुमारले तीन विकेट लिए भने जस्प्रित बुमराह, हार्दिक पाण्ड्या, रवीन्द्र जडेजा र युज्भेन्द्र चाहलले एक-एक विकेट लिए ।

२४० रनको लक्ष्य पछ्याएको भारतले ४९ ओभर ३ बलमा अलआउट हुँदा २२१ रनमा अलआउट भयाे । भारतका टप अर्डका खेलाडीहरु केएल राहुल, रोहित शर्मा र विराट कोहली १–१ रन बनाएर आउट हुँदा पाँच रनको अवस्थामा भारतले तीन विकेट गुमाइसकेको थियो ।

दिनेश कार्तिक पनि ६ रन बनाएर आउट भए । ऋषभ पन्त र हार्दिक पाण्ड्याले ३२–३२ रन जोडे । ९२ रन बनाउँदा ६ विकेट गुमाएको भारतका लागि रवीन्द्र जडेजा र महेन्द्रसिंह धोनीले ११६ रनको शतकीय साझेदारी गरेपछि भारतको जितको आशा जागेको थियो । तर, जडेजा ७७ रन बनाएर ट्रेन्ट बोल्टको बलमा केन विलियमसनबाट क्याचआउट हुँदा भारतले २०८ रनमा सातौं विकेट गुमाएको थियो ।

धोनीले ५० रनको अर्धशतकीय योगदान दिए पनि खेल जिताउन सकेनन् ।

बलिङतर्फ म्याट हेनरीले तीन विकेट लिए भने ट्रेन्ट बोल्ट र मिचेल सान्टनरले २–२ विकेट लिए ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया