पश्चिमी वायुले पनि नेपालमा पानी पार्ने सम्भावना कम, यस पटक पूर्वानुमान गर्न पनि कठिन

 माघ १७, २०८० बुधबार १८:५:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – अहिले नेपालमा रहेको पश्चिमी वायुले पनि वर्षा गराउने सम्भावना कम भएको छ ।

अस्ति बेलुका पश्चिमी क्षेत्र हुँदै नेपाल प्रवेश गरेको पश्चिमी वायुले आज पश्चिमी क्षेत्र र भोलि काठमाण्डौ उपत्यकासहित मध्य क्षेत्र तथा पूर्वका पहाडी भूभागमा आंशिकदेखि सामान्य वर्षा हुने सम्भावना थियो । तर प्रणाली कमजोर भएकोले छिटपुटबाहेक वर्षाको सम्भावना कम हुँदै गएको मौसम पूर्वानुमान् महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । अझै पनि आज राति वा भोलि केही ठाउँमा वर्षाको सम्भावना रहे पनि धेरै ठाउँमा पानी पर्ने सम्भावना कम रहेको उहाँको भनाइ छ । उच्च पहाडी तथा हिमाली क्षेत्रमा सामान्यदेखि मध्ययम खालको हिमपात भने हुनेछ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्रध्यापक विनोद पोख्रेल पनि पश्चिम नेपालमा केही वर्षा भए पनि अहिलेको प्रणालीले काठमाण्डौसहित मध्य र पूर्वी क्षेत्रमा वर्षा गराउने सस्भावना ज्यादै कम भएको बताउनुहुन्छ । यो वर्ष हिउँदे वर्षा कम भएकाे र पूर्वानुमान गर्न पनि कठिन भएको उहाँले बताउनुभयो ।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्याल पनि यस पटक पूर्वानुमानमा कठिनाइ भएको बताउनुहुन्छ । नेपाल भित्रिँदै गर्दा राम्रै देखिएको प्रणाली पनि यहाँ आएपछि कमजोर बनेको उहाँले बताउनुभयो ।

पश्चिमी वायुको प्रभावका कारण तराई मधेसमा लागेको हुस्सु तथा कुहिरो भने कम भएको छ । आज बिहान केही ठाउँमा हुस्सु लागेकोमा दिउँसोपख धेरैजसो ठाउँमा घाम लाग्यो । यस्तै भोलि पनि बिहान केही हुस्सु देखिए पनि दिउँसो चाँडै कम हुने मौसमविद् अर्यालले बताउनुभयो । आज दिउँसो लामो समयपछि पश्चिम तराईमा पनि घाम लागेको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया