विदेशमा पैसा फल्ने बोट हुँदैन, रहर र आवश्यकता छुट्याउनुपर्छ

 माघ २६, २०८० शुक्रबार १६:१२:३७ | उज्यालो सहकर्मी
unn.prixa.net

अमित संग्रौला/झापा

अहिले वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा छु । विदेश आएको छ महिना बितिसेकेको छ । दिनहुँजसो युवायुवती विदेशिने क्रम जारी छ । देशमै बसेर केही गर्छु भन्नेलाई सरकारले रोजगार दिन सकिरहेको छैन । हुन त अहिले सरकारले स्वदेशमै रोजगार कार्यक्रम/अभियान शुरु गरेको छ । यो आशावादी विषय हो । तर यो अभियानले कति नेपाली युवालाई रोजगारी दिन सक्छ भन्ने प्रश्न छ ।

देशमा जति नै रोजगारी छ भने पनि वैदेशिक रोजगारीमा जाने युवाको सङ्ख्या बढी नै रहेको छ । यसो हुनुमा उनीहरू आफ्नो आर्थिक अवस्था उकास्न चाहन्छन् । त्यसैले युवा अहिले विदेशमा पसिना बगाइरहेका छन् । तर वैदेशिक रोजगारीमा जाँदा कस्ता कुराहरूको ख्याल गर्नुपर्छ, कस्तो चुनौतीको सामना गर्नुपर्छ भन्ने याद हुँदैन । आज म वैदेशिक रोजगारीमा जाँदा ख्याल गर्नुपर्ने कुराहरू बताउँछु ।

वैदेशिक रोजगारीमा जानका लागि मानसिक, शारीरिक र भावनात्मक रूपमा सबल हुनुपर्छ । आफू जान लागेको देशको भाषा, संस्कृति, रहनसहनलगायत सबै जानकारी लिनुपर्छ । भाषा र सीप सिकेर जानुपर्छ । सीप सिकेर आए विदेशमा काम पाउन सजिलो हुन्छ । भाषा सिकेर आए विदेशमा दुःख पाइँदैन । विदेश आउनुअघि खाना पकाउन सिक्नुपर्छ किनकि विदेशमा खाना पकाएर दिने कोही पनि हुँदैन ।

गन्तव्य देश पुग्नासाथ सबै कुरा राम्रो हुन्छ भन्ने हुँदैन । शुरुका दिनहरू शून्य लाग्छन् । घरपरिवार र आफ्नो गाउँठाउँको निकै याद आउँछ । आफ्नो परिवारबाट टाढा नबसेकाहरू एक्कासी विदेशिँदा मन अत्तालिन्छ । त्यसको व्यवस्थापन कसरी गर्ने भन्ने थाहा हँदैन । त्यसैले विदेश आउनु अघिदेखि नै आफूलाई मानसिक रूपमा दह्रो राख्नुपर्छ । अझै मिल्छ भने विदेश जानुअघि मानसिक परामर्श लिएर गएको राम्रो हुन्छ । मैले देखेको छु, विदेश आएर मानसिक चिन्ताकै कारण थुप्रोले ज्यान गुमाएका छन् । खाने, सुत्नेदेखि सबै कामको तालिका बनाउनुपर्छ । यसले विदेश बसाइँलाई सहज बनाउँछ ।

वैदेशिक रोजगारीमा आएपछि ख्याल गर्नुपर्ने अर्को महत्त्वपूर्ण विषय हो, पैसाकाे व्यवस्थापन । विदेशमा दुःख गरेर कमाएको पैसा कति खर्च गर्ने, कहाँ खर्च गर्ने, कसरी बचाउने भन्ने ख्याल गर्नुपर्छ । हामी सबैका चाहना हुन्छन् । झन् विदेशका थुप्रै कुराले लोभ्याउँछन् । त्यस बेला आफ्नो रहर र आवश्यकता छुट्याउनुपर्छ । नत्र हतारमा निर्णय गरेर फुर्सदमा पछुताउने हुन्छ । विदेशमा पैसा फल्ने बोट हुँदैन । त्यसैले आफैँ सचेत रहनुपर्छ । मैले मेरो विदेश बसाइँका आधारमा आफूलाई लागेको कुरा बताएको हुँ ।

अन्तिम अपडेट: बैशाख २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया