श्रम स्वीकृति सेवाका लागि तीन 'शिफ्ट' मा काम शुरु, राति ९ देखि बिहान ४ बजेसम्म पनि काम हुने

 चैत १६, २०८० शुक्रबार १८:३:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाण्डौले वैदेशिक रोजगारीमा जानेहरूलाई श्रम स्वीकृतिका लागि तीन 'शिफ्ट' मा काम थालेको छ ।

वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेका अनुसार बिहान ७ देखि दिउँसो २ बजेसम्म, दिउँसो २ देखि राति ९ बजेसम्म र राति ९ देखि बिहान ४ बजेसम्म गरी तीन 'शिफ्ट' मा सेवा दिन थालिएको हो । यसअघि बिहान ७ देखि दिउँसो २ बजेसम्म र दिउँसो २ देखि राति ९ बजेसम्म सेवा दिने गरिएको थियो । कार्यालयका ५७ जना कर्मचारीलाई आलोपालो गरी व्यवस्थापन मिलाइएको महानिर्देशक घिमिरेले जानकारी दिनुभयो ।

उहाँका अनुसार बिदाको दिनसमेत कार्यालय सञ्चालन गरी सेवा प्रवाहलाई थप व्यवस्थित बनाइनेछ । महानिर्देशक घिमिरेले नयाँ र पुनः श्रम स्वीकृति गरी अहिले दैनिक दुई हजार पाँच सय जनासम्मलाई श्रम स्वीकृति दिने गरेकाे बताउनुभयो ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले एक घण्टाभित्रै श्रम स्वीकृति दिने गरी व्यवस्थापन गर्न निर्देशन दिएपछि कार्यालयले श्रम स्वीकृति दिने सेवा दुई 'शिफ्ट' बाट तीन 'शिफ्ट' मा विस्तार गरेको हो ।

कार्यालयले अहिले अनलाइन फारम भरेर टोकन दिने प्रणाली दिउँसो १ बजेपछि मात्रै खुला गर्न थालेको छ । यसअघि १० बजेदेखि अनलाइन प्रणाली खुला गर्दा चाप धेरै पर्ने गरेको र त्यसले प्रणालीमा समस्या हुँदा टोकन लिन नै सास्ती हुने गरेको गुनासो आएकाे कार्यालयका निर्देशक एवम् सूचना अधिकारी कल्पना मास्केले बताउनुभयो । अब याे गुनासाे कम हुने उहाँको भनाइ छ ।

तपाईको प्रतिक्रिया