नेपाली कामदार मलेसिया ल्याउँदा फाइदा नलिएको मलेसियाका पूर्व उपप्रधानमन्त्रीको दावी (भिडियो)

 साउन ८, २०७५ मंगलबार १८:२६:११ | उज्यालो सहकर्मी

मलेसिया – मलेसियाका पूर्व उपप्रधानमन्त्री अहमद जाहिद हमिदीले नेपाली कामदारबाट फाइदा नलिएको दावी गरेका छन् ।

सोमबार संसद परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै हमिदीले आफू र आफ्नो परिवारका सदस्य कोही पनि यसमा संलग्न नरहेको र अनुसन्धान गरेपनि संलग्नतामा नरहेको प्रमाण आफूसँग भएको बताएका छन् ।

>

पत्रकारहरुसँग कुरा गर्दै उनले भनेका छन्, ‘म डराएको छैन, म अनुसन्धानका लागि तयार छु ।’ साथै  पदमा रहदा आफूले शक्तिको दुरुपयोग नगरेको पनि उनले दावी गरेका छन् ।

अहमद जाहिद गृहमन्त्री छँदा मलेसियाले बेस्टिनेट नामक कम्पनीलाई मलेसिया जाने कामदरको भिसा प्रक्रिया र स्वास्थ्य परिक्षणका लागि आउसोर्स गरेको थियो । यस कम्पनीसँग आवद्ध भएर नेपालमा खडा भएका कम्पनीबाट नै भिसा प्रक्रिया र स्वास्थ्य जाँच गर्नु पर्ने अनिवार्य थियो ।

तर नेपाल सरकारले यसरी अवैधानिक रुपमा कम्पनी खडागरी नेपाली कामदारबाट अतिरिक्त शुल्क लिएको भन्दै कारवाही अघि बढाएर खारेज गरिसकेको छ । साथै, समस्या समाधान नभएसम्म मलेसियाको नयाँ भिसा प्रक्रिया र अन्तिम श्रमस्वीकृती नै रोकिएको छ । 

अहमद जाहिद पदमा रहदा नै बेस्टिनेट आउट सोर्स गरेको र यसैसँग आवद्ध कम्पनीहरुले नेपालबाट मलेसिया जाने कामदारबाट अतिरिक्त शुल्क लिएपछि कामदार मारमा परेको भन्दै सरकारले यी संस्था खारेज गरेपछि नयाँ नेपाली कामदार मलेसिया जान पाएका छैनन् ।

 

बेष्टिनेट कम्पनी अहमद जाहिद कै ज्वाईंको भएको र नेपाली कामदारमाथि आर्थिक भार थप्नुमा उनी पनि संलग्न भएको आरोप छ । तर उनले आफू र आफ्नो परिवारका सदस्य यसमा संलग्न नभएको प्रमाण भएको भन्दै अनुसन्धान गरेपनि आफू नडराउने बताएका छन् । 

यसैबीच, यसरी मलेसियाले खडा गरेका विभिन्न संस्थालाई नेपालले अवैधानिक घोषणा गरेर कारवाही अगाडी बढाएका संस्था खारेजगर्न मलेसिया सकारात्क देखिएको छ । 

मलेसियाका मानव संसाधन मन्त्रालयका उच्च अधिकारी र मलेसियाका लागि  कार्यवाहक रादूत कुमारराज खरेलसहितको नेपाली टोलीबिचको मंगलबार भएको छलफलमा संस्था गर्न खारेज सकारात्मक भएको दूतावासले जनाएको छ ।

नेपालले कामदार पठाउनै रोकेपछि चासो दिँदै मलेसिया सरकारले नेपाली राजदुतावाससँग छलफल अघि बढाएको हो । नेपाली कामदारमाथि लगाइएको चर्को आर्थिक भारका विषयमा मलेसियाको गृह मन्त्रालय, परराष्ट्र र मानव संशाधन मन्त्रालयले सामुहिक अध्ययन गरिरहेको र यस विषयमा औपचारिक छलफलपछि केही महत्वपूर्ण निर्णय आउने दूतावासले जनाएको छ ।

जेठ २ सम्म प्रक्रिया पूरा गरेकाले मलेसिया जान पाउने

गएको जेठ २ गतेसम्म सबै प्रक्रिया पूरा गरे पनि मलेसिया जान रोकिएका कामदार भने मलेसिया जान पाउने भएका छन् । श्रम मन्त्रालयले आइतबारदेखि भिसा प्रक्रिया पूरा गरेका कामदारलाई अन्तिम श्रम स्वीकृति दिन खुल्ला गरेको हो । 

नेपाल र मलेसियाबीच भएको समस्याका विषयमा बुधबार त्यहाँको गृह र मानव संसाधन मन्त्रालयबीच छलफल हुने दूतावासले जनाएको छ । 
 

तपाईको प्रतिक्रिया