दक्षिण कोरियाका राष्ट्रपति युनद्वारा भ्रष्टाचार नियन्त्रण निकाय स...
पुस ३, २०८१ बुधबार
उदयपुर - देशमा होस् या परदेशमा हातको कलाले नै जिन्दगीमा भालो गर्छ भन्नुहुन्छ उपयपुरकी शिला तामाङ । शिलालाई मलेसियामा श्रीमान् हराएपछि छोराछोरी पाल्न परदेश जानुपर्ने बाध्यता आइपर्यो । बाध्यताले साउदी पुगेपनि शिलालाई परदेशमा भोगेको दुःखले नै स्वदेशमा इलम गर्नसक्ने बनायो ।
अहिले मेरो हातमा कला छ । मसँगै सबै कुरा छ । तर आज भन्दा १० – १५ वर्ष अघि मेरो यस्तो अवस्था थिएन ।
२०६० साल तिरको कुरा हो । श्रीमान मलेसिया लाग्नुभयो । मेरो जिम्मेवारी थियो दुई सन्तान र घरव्यवहार । मलेसिया गएको केही समयपछि श्रीमानको फोन आएन । राम्रो भएर हो या नराम्रो भएर त्यो त के जान्नु र । जसो भएर सम्पर्कविहीन भएपनि उहाँ हराउदा हामीलाई मौरीको रानो हराए झैं भयो ।
घरमा आम्दानीको स्रोत केही थिएन । के गर्ने, कसो गर्ने ।साथीभाइ सबैले छोरी मान्छेले पनि कमाउन सक्छन् । विदेश जाउ तिमी पनि भने । त्यसपछि मैले पनि विदेश जाने निणर्य गरेँ । नगएर पनि सुखै भएन । छोराछोरी त पढाउनै पर्यो । २०६५ सालमा साउदी गएँ ।
चिनजानकै एक जना दिदीले हो साउदी पठाएको । पैसा तिर्न परेन । म दुःखीलाई त्यो बेलामा सबैभन्दा ठूलो कुरा त्यही नै थियो ।
मुम्बईको हुँदै साउदी गएको हुँ । घरबाट निस्कदा म एक्लै छु बाध्यताल परदेश लाग्ने जस्तो लाग्थ्यो । तर मुम्बई पुगेपछि मै जस्ता थुप्रै भेट्टाएँ । सबैको भिसा चाडो चाडो ने आयो । तर मैले एक महिना मुम्बईमै कुर्न पर्यो ।
एक महिना पछि साउदी पुगेँ । घरको काम । भाषा, मानिस, रहनसहन वातावरण सबै नयाँ थियो मरो लागि । न हातमा सीप थियो न मुखमा बोली के गर्नु । लाटो नै भएँ सुरुमा त । तर बिस्तारै बानी हुँदै गयो ।
खाना पकाउने, बच्चा हेर्ने सबै काम गर्न पर्थो । घरको काम सजिलो त नहुने नि । सात महिना भएको थियो साउदी पुगेको । खै के सोच्नुभयो मै कमाउन हिँडेपछि श्रीमान् फर्किनु भएछ । उहाँले बोलाउनु भयो मलाई पनि । म सात महिना काम गरेर घर फर्किएँ ।
श्रीमान् त फेरि जानुभयो । तर म गइनँ । श्रीमान् विदेश गए भन्दैमा यसै बस्नुभन्दा त केही काम गरौं जस्तो लाग्यो र मैले नै व्यवसाय सुरु गरें ।
सिलाई कटाईको काम । बिस्तारै गर्दा पनि हुने । आम्दानी पनि हुने । विदेशमा गएर त कति घण्टा काम गरिन्छ नसुती नसुती भने आफ्नै गाउँमा किन दुःख नगर्ने ।
२०६७ सालदेखि टेलर्स गरेको । पहिले बजारमा थियो अहिले घरमै छ । यही व्यवसायलाई राम्रो बनाउन म लागि परेको छु । घर बसी बसी । घर पनि हेरिने । काम पनि हुने । महिनाको १० – १२ हजार जस्तो हुन्छ ।
विदेश जाने सोच बनाउनुभएका दाजुभाइ दिदीबहिनीले आफू दक्ष भएर मात्र जानुस् भन्छु । सबै भन्दा ठूलो त सीप नै हो । हातमा कला नभए परदेशमा दुःख पाइदोरहेछ । आफूले गर्ने काम, सीप, वातावरण, कानुन सबै बुझ्न पर्छ । अनि देशमा होस् वा विदेशमा काम गर्ने इच्छा शक्ति चाहिँन्छ ।