विदेशको कमाइले पक्की घर बनाएर के गर्नु, छोराले आमा भन्दैन

 असोज २३, २०७५ मंगलबार १२:५६:४८ | मोहन पौडेल

काठमाडौं – ‘अब हामीलाई आमाको खाँचो छैन’ हिमालाई उहाँकै छोराले भनेको वाक्य हो यो । आफ्नो एक मात्रै छोराको यो बचन हिमाका लागि तीरले हानेको भन्दा धेरै भयो । 

जसको भविष्यका लागि हिमाले घरमा मात्रै होइन विदेशसम्म पुगेर दुःख गर्नुभयो, त्यही  छोराले कहिल्यै बिर्सिन नसक्ने शब्दले मन रुवाए । 

हुरी बतास छेक्न सक्ने घरको सपनाले हिमालाई मलेसिया पुर‍याएको थियो । पाँच वर्ष बसेर २०७० सालमा घर फर्किंदा सपना पूरा त भए । तर मन अझै हाँस्न सकेको छैन । 

उहाँभन्दा अघि उहाँका श्रीमान् मलेसिया जानुभएको थियो । खेती गर्नलाई जमिन नभएको होइन । तर लगाएको बाली उठाएर थन्क्याउने घर थिएन । खेतबाट उठाएको धान भकारीमा उम्रिन्थ्यो । छानोले पानी छेक्दैनथ्यो । अन्नसँगै ज्यानलाई पनि ओत लगाउन आधा पेट खाएर भए पनि घर बनाउने सपना थियो उहाँको । सपना त्यही थियो, उहाँका श्रीमानको पनि । 

त्यसकै लागि श्रीमान् मलेसिया पुग्नुभयो । कमाएर बचाउने अनि घर बनाउने सपनाको पोको बोकेर मलेसिया पुगेका श्रीमानले पाउने तलबमा लेभी काटेर ६ सय रिंगिट बच्थ्यो । त्यसबाटै आफ्नो खर्च कटाएर बचेको पैसा घर पठाउनुहुन्थ्यो । श्रीमानले पठाएको पैसा घरखर्च र जाँदा लिएको ऋण घटाउँदैमा ठिक्क हुन्थ्यो हिमालाई । 

यस्तै मात्रै हो भने त कहिले बचाएर घर बनाउनु भन्ने लाग्न थालेपछि हिमाले आफू पनि विदेश जाने सोच्नुभयो । हिमाको टाढाको नाताकी नन्द पनि उहाँका श्रीमानले काम गर्ने कम्पनीमै गएकी थिइन् ।

उनले काम सजिलो रहेछ भनेपछि हिमाले श्रीमानसँग आफू पनि मलेसिया आउने जिद्दी गर्नुभयो । पैसा बचाउन नसकिरहेका श्रीमानले निकै दिनपछि मात्र सहमति जनाउनुभयो ।

 पासपोर्ट हात परेको रात 

विदेश जाने निधो गरेर पासपोर्ट बनाएको दिन निद्रा लागेन हिमालाई । जान पाउने खुशीले होइन, छोराछोरी छोडेर हिँड्नुपर्ने पीरले ।

‘छोराछोरीलाई लिएर एउटै खाटमा सुत्थें’ आँखामा आँसु टिलपिल पार्दै हिमाले भन्नुभयो ‘मायासँगै उनीहरु भविष्य पनि सोचें’ आफूले दुःख पाए पनि छोराछोरीलाई चाहिँ दुःख दिनु हुँदैन भन्ने लाग्थ्यो ।’

त्यसैले उहाँ एक छोरा र एक छोरीलाई छोडेर मलेसिया पुग्नुभयो । मलेसियामा त्योभन्दा पहिले नै उहाँका श्रीमान काम गर्नुहुन्थ्यो । उहाँले श्रीमानले काम गरेको कम्पनीमै काम पाउनुभयो । 

ग्लोब कम्पनीमा गएकी हिमालाई भनिएकोभन्दा पनि सजिलो काम पर‍यो । ‘सुरुको एक हप्ता राती काम गर्नुपर्दा बानी नभएकाले गाह्रो भएको थियो’ उहाँ भन्नुहुन्छ । तर महिना दिन पार गरेपछि बानी पर‍यो । 

श्रीमानको कमाइ नबचेकाले हिमा आफैं विदेश पुग्नुभएको थियो । दुई जनाले नै कमाउन थालेपछि पैसा बच्न थाल्यो । पहिलादेखिको ऋण तिर्नुभयो । ऋण तिरेपछिको पैसा जेठानीलाई पठाएर बैंकमा जम्मा गर्न लगाएकी हिमा र उहाँका श्रीमान् दुई वर्षपछि बिदामा घर आउनुभयो । 

त्यतिबेलासम्ममा ५ लाख रुपैयाँ जम्मा भएको थियो बैंकमा । दुवैको सपना घर बनाउनु नै थियो । घरको जग बसाएर आधा बनाएपछि पुर‍याएपछि दुवैजना फेरि मलेसिया फर्किनुभयो ।

थप दुई वर्ष बस्दा घर बन्यो । घर उभ्याउने सपना पूरा भएपछि हिमालाई श्रीमानले घर फर्किन भन्नुभयो । हिमा सपनाको घर सम्हाल्न आउनुभयो । 

मन रुवाने छोराको त्यो बचन 

घर आएकी हिमालाई घर, घर जस्तो लागेन । चुहिने छानो भएको घर परिवार बीचको मायाले उज्यालो त थियो । तर विदेशबाट फर्किएकी हिमाले पक्की घरभित्र त्यो उज्यालो महसुस गर्न पाउनुभएन । 

आमा आएको खुशीमा छोराछोरी भुम्मिएलान् भन्ने सोच्नुभएको थियो हिमाले । तर छोरा छेवै परेनन् । सुरुमा त हिमाले लामो समय सँगै नभएकाले अप्ठ्यारो लागेको होला भन्ने सोच्नुभयो । तर छोराले ‘अब हामीलाई आमाको खाँचो छैन’ भनेपछि अघिसम्मको चखिलो बोली मलिन भयो । त्यो पनि एक पटक होइन, पटक पटक । 

‘जसका लागि भनेर म विदेश गएँ । उसले नै आज त्यस्तो भन्दा मेरो मन कति रोएको होला भन्नु त ?’ उहाँका आँखा रसाए । जसलाई छोड्ने बेला हिमालाई रातभरी निद्रा परेको थिएन । त्यही छोराको व्यवहारले आज उहाँलाई धित मर्ने गरी निद्रा लाग्दैन । 

घर बनाउने सपना पूरा गरेर फर्किएपछिका हिमाका दिन यस्तै पीडा र छटपटीमा बितिरहेका छन् । उहाँ फर्किएपछि छोराको बिहे पनि भयो । पहिलाको भन्दा व्यवहार केही फेरिएको छ ।

तर अहिले पनि छोराबाट पाउनुपर्ने आत्मीयता र माया पाएजस्तो लाग्दैन हिमालाई । हिमाले पनि छोरालाई मनभित्रबाट माया दिन पाउनुभएको छैन । कारण, हिमा विदेशबाट फर्किएदेखि छोरो आमा भनेर छेउ परेका छैनन् । 

‘सानैमा छोडेर गएको कारण छोराको व्यवहार फेरिएजस्तो लाग्छ, तर जति फकाउन खोज्दा पनि उ वरपर पर्दैन’ हिमाले चिन्ता मान्दै भन्नुभयो ।

साथी र गाउँलेको व्यवहार नुनचुक जस्तो 

घाउमा नुनचुक लाग्दाको पीडा हिमाले भोग्नुभएको छैन । तर यस्तो होला भनेर पीडा बोध गरेकी हिमालाई साथी र छिमेकीको व्यवहारले त्यसकै जत्तिको पीडा दिएको छ । उनीहरुले छोराको व्यवहारलाई हिमासँगै जोडे ।

भने ‘आमाले छोडेर गएपछि यस्तो भइहाल्छ नि ।’ हिमालाई त्यसो भन्नेहरुले कहिले पनि आमाले पनि बाउले जस्तै कमाएर अहिलेको अवस्थामा ल्याइ भनेर कहिल्यै भनेनन् । छोराछोरी छोडेर बिगारी मात्रै भन्थे ।

विदेशबाट फर्किएकी हिमा पहिले सँगै मेलापात गर्ने साथीहरुसँग भेट्न जानुभयो । तर उनीहरु खुलेर बोलेनन् । ‘विदेशमा गएर आएको मान्छे गतिलो हुँदैन भन्दा रैछन, त्यो कुरा मैले थाहा पाएँ’ हिमा भन्नुहुन्छ । यतिसम्मकी उहाँकै साथीहरुले पनि लाएको र खाएको कुरामा पनि टिप्पणी गर्न थाले । 

हिमाले समाजमा त्यस्ता कुरा हुन्छन भन्ने लख विदेशमा हुँदै काटिसक्नुभएको थियो । गाउँबाट त विदेश जाने महिलाहरु फाट्टफुट्ट मात्रै थिए । तर उनीहरुलाई भनिएका कुरा चाहिँ हिमाले सुन्नुभएको थियो ।

हिमा ती कुरा सबै ठिक होइनन् भन्ने देखाउन र बुझाउन चाहनुहुन्थ्यो । त्यसैले उहाँले मलेसियामा आफूले काम गर्ने ठाउँको भिडियो बनाएर ल्याउनुभएको थियो । तर विदेशबाट फर्किएकी हिमाको घरमा झुम्मिएका केटाकेटीले त्यो भिडियो डिलिट गरिदिए ।

हिमासँग प्रमाण रहेन । गाउँहरुले न विदेश देखेका, न विदेशका बारेमा बुझेका । ‘गाउँबाट मलेसियाको त्यो ठाउँमा कोही गएका थिएनन्, नत्र उनीहरुलाई पनि सोध भन्ने थिएँ’ हिमा भन्नुहुन्छ । 

साथी र गाउँहरुले नानाथरि भने पनि हिमाले काम गर्ने मलेसियाको कम्पनीको वातावरण भने राम्रो थियो । पूर्वतिरका साथीहरु थिए । श्रीमान पनि सँगै भएकाले हिमालाई कसैले भाउजु र कसैले दिदी भनेर बोलाउँथे ।

५ वर्षमा कसैले पनि एक वचन नराम्रो भनेनन् । नराम्रो नियत राखेर बोलेनन् पनि । तर त्यो कुरा गाउँलेलाई कसरी बुझाउनु ? हिमासँग कुनै उपाय छैन । ‘त्यहाँ माया र इज्जत थियो तर यहाँ त्यस्तो छैन’ हिमा भन्नुहुन्छ ‘यदि गाउँका कोही हुन्थे भने उनीहरुलाई विदेश जानेहरु सबै बिग्रिएका हुँदैनन भनेर प्रमाण देखाउँथें भन्ने लाग्छ ।’

हिमाकी छोरी पनि छिन् । १२ कक्षा पास गरेकी छोरी विद्यार्थी भिसामा जापान जाने तयारीमा छिन् । तर छोरीलाई विदेश पठाउन हिमालाई आँट छैन । आफू विदेश जाँदा आफ्नै छोरो पराई जस्तो भयो । गाउँलेले कुरा काटे । 

‘म आफ्नो बुढोसँग जाँदा त यस्तो व्यवहार खेपिरहनु परेको छ । छोरी त झन् सानै नै छ । बिहे भएको छैन भोलि यही समाजले के नभन्ला र । भोलि बिहे नहोला भन्ने चिन्ता छ’ हिमाले छोरीलाई विदेश पठाउन नखोज्नुको कारण पनि सुनाउनुभयो ।’ 

हिमा फर्किएको दुई वर्षपछि श्रीमान पनि परदेशको बसाई सधैंका लागि टुङ्ग्याउँदै घर फर्किनुभयो । हिमाको परिवार सँगै त भएको छ, तर छोराकै व्यवहारले मन रमाउन सकेको छैन । एकातिर छोराको बचन, अर्कोतिर गाउँलेको लाञ्छनासहितको व्यवहार । हिमाले अब कता जाने, के गर्ने ?

वैदेशिक रोजगारीको सामाजिक मोल अन्तर्गत सोमबार प्रकाशित पढ्ने कथा 

विदेशबाटै श्रीमतीलाई ‘टर्चर’

भिडियाे कथा

वैदेशिक रोजगारीको सामाजिक मोल अन्तर्गत बुधबार परदेशबाट होस गुमाएर फर्किएकाहरुका कुरा प्रकाशित गर्नेछौं ।

 

मोहन पौडेल

मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।    

1 Comments

  • Anil

    Oct. 11, 2018, 10:11 p.m.

    कसैले दिदीको भिडियो रिकभरी गरियोस , धर्म हुने थियो /

तपाईको प्रतिक्रिया