नेपालीहरूको रोजाईमा परेको पोर्चुगलमा पाइने काम र हुने कमाइ

 मंसिर ७, २०८० बिहिबार १२:११:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

पोर्चुगल एक विकसित र उच्च आय भएको देश हो । यो युरोपको सबैभन्दा पुरानो देशहरू मध्ये एक हो । पोर्चुगलसँग जमिनको सीमा भएको एक मात्र देश स्पेन हो । यसको राजधानी लिस्बन हो र जनसङ्ख्याको आधारमा सबैभन्दा ठुलो सहर हो ।

यहाँ नेपालमा जस्तै सरकारको प्रमुख प्रधानमन्त्री र राज्यको प्रमुख राष्ट्रपति छन् । शान्ति, लोकतन्त्र, प्रेस स्वतन्त्रता, स्थिरता, सामाजिक प्रगति, समृद्धि लगायतमा हिसाबले राम्रो देश मानिन्छ ।  

पोर्चुगल शेन्जेन क्षेत्र भित्र पर्दछ ।  स्वतन्त्र रूपमा मानिसको आवतजावतसँगै सामानहरू समेत सिमाना वारपार गर्न सक्ने गरी युरोपका विभिन्न २७ वटा देशहरुबीच शेन्जेन सम्झौता भएको छ । यी २७ मध्ये कुनै एक देशको भिसा भएकाहरूले २७ वटै देशमा विना रोकावट आवतजावत गर्न सक्छन् ।

राजधानी: लिस्बन

आधिकारिक भाषा: पोर्तुगाली

मुद्रा: युरो । युरो १ बराबर सरदर नेपाली रुपैयाँ एक सय ४५ हुन्छ । समय अनुसार विनिमयदर फरक पर्न सक्छ ।

समय भिन्नता: नेपाल समयभन्दा ४ घण्टा ४५ मिनेट देखि ५ घण्टा ४५ मिनेट ढिला छ ।

धर्म : आफ्नो कुनै आधिकारिक धर्म छैन । यो नेपालजस्तै धर्मनिरपेक्ष देश हो ।

शेन्जेन क्षेत्र सदस्य : २६ मार्च १९९५ देखि पोर्चुगल शेन्जेन क्षेत्र सदस्य छ ।

यहाँका अधिकांश उद्योग, व्यवसाय र वित्तीय संस्थाहरू लिस्बन र पोर्टो महानगरीय क्षेत्रहरूमा केन्द्रित छन् । सेतुबल, एवेरो, ब्रागा, कोइम्ब्रा, लेइरिया र फारो जिल्लाहरू लिस्बन र पोर्टो बाहिरका ठूला आर्थिक केन्द्रहरू हुन् । अन्य पश्चिमी युरोपेली देशहरू जस्तै यहाँको अर्थतन्त्रमा अहिले सेवा क्षेत्र (जस्तै: स्वास्थ्य क्षेत्र, पर्यटन, यातायात) को प्रभुत्व छ । पोर्चुगलको सार्वजनिक स्वास्थ्य प्रणाली बेलायत जर्मनी वा स्वीडेन जस्ता देशहरू भन्दा पनि अगाडि छ ।

हावापानी 

यो युरोपका देशहरूमध्येमा तातो ठाउँ हो । सामान्यतया चिसो भएर यहाँ हिउँ पर्दैन । तर क्षेत्र अनुसार तापक्रम भने फरक फरक हुन सक्छ ।

भिसाको  नियम

भिसाको आवेदन दिनुअघि तपाईँले त्यहाँको रोजगारदाताबाट  जब अफर पाएको हुनुपर्छ । रोजगारदाताले नै तपाईँको लागि काम गर्ने अनुमति (work permit) लिन पर्छ । काम गर्ने अनुमति पाएपछि मात्रै भिसाको आवेदन दिन पर्छ । नेपालमा पोर्चुगलको दूतावास छैन ।

नेपालबाट रोजगारीका लागि जाने भिसाको प्रक्रिया भारतको दिल्लीमा रहेको पोर्तुगाली दूतावासबाट गर्नु पर्छ । पोर्चुगल पुगेपछि त्यहाँ बसोबासका लागि अनुमति लिन पर्छ । बसोबासको अनुमतिसँगै त्यहाँको सामाजिक सुरक्षा नम्बर र ट्याक्स नम्बर पनि लिनु पर्छ ।

यहाँ कार्यरत श्रमिकहरूको लागि आवास अनुमति दुई वर्षको लागि मान्य हुन्छ । लगातार तीन वर्षसम्म नवीकरण गर्न सकिन्छ । श्रमिकहरूले एउटै आवेदन प्रक्रिया र अनुमतिको आधारमा जुनसुकै बेला धेरै रोजगारदाताहरूको लागि काम गर्न र रोजगारदाता र जागिर क्षेत्र परिवर्तन गर्न सक्छन् ।

आवास अनुमति भएका आप्रवासीहरूले ३६० दिन काम गरिसकेपछि भेटघाटका लागि  परिवार लैजाने आवेदन पनि दिन सक्छन् । तर यो प्रक्रिया महँगो र झन्झटिलो हुन सक्छ । पाँच वर्षपछि आप्रवासी श्रमिकहरूले पनि दीर्घकालीन आवास अनुमतिको लागि आवेदन दिन सक्छन् । र छ वर्षपछि  पोर्चुगाली नागरिकता प्राप्त गर्न सक्ने प्रावधान छ ।

पोर्चुगलमा पछिल्लो समय भाडा र घरको मूल्य महँगो छ । अझ विशेष गरी लिस्बनमा धेरै महँगो छ र भाडामा बस्ने कोठा पाउन समेत समस्या छ ।

ट्राफिक  नियम

पोर्चुगलमा सडकको दायाँ तर्फबाट सवारी साधन हाँक्ने नियम छ । सबै सवारी साधनलाई बायाँबाट ओभरटेक गर्नुपर्छ ।  पोर्चुगलमा गाडी चलाउनको लागि कानुनी उमेर १८ वर्ष हो । 

पैदल यात्रीले सधैँ सडक पेटी (फुटपाथ) को प्रयोग गर्नु पर्छ । फुटपाथ नहुँदा पैदल यात्रुहरूले सम्भव भएसम्म सडकको बायाँ तर्फबाट हिँड्नु पर्छ । साथै, सकेसम्म सवारी साधनबाट सुरक्षित दूरी राख्ने प्रयास गर्नुपर्छ । पैदल यात्रीहरूलाई अँध्यारोमा वा धमिलो प्रकाशमा एक अर्काको दायाँ बायाँ छेउमा हिँड्न अनुमति छैन, एक अर्काको पछाडि हिँड्नु पर्छ।

सडक पार गर्दा आफ्नो सुरक्षा सुनिश्चित गर्न, जेब्रा क्रसिङ, ट्राफिक टापु, फुटब्रिज, सबवे र ट्राफिक बत्तीहरू जस्ता तोकिएका क्रसिङहरू (क्षेत्र) प्रयोग गर्नुपर्छ। बाटो काट्न सुरु गर्नु अघि  ट्राफिक (गाडिहरु) पूर्ण रूपमा रोकिएको सुनिश्चित गरेर मात्र बाटो काट्न पर्छ । बाटो काट्दा सधैँ जेब्रा चिन्हहरू माथि हिँड्नुपर्छ ।

 पोर्चुगल संस्थागत रूपमा म्यानपावर व्यवसायीले वैदेशिक रोजगारीमा श्रमिक पठाउन पाउने गरी सरकारले खुला गरेको देश हो । यो देशमा श्रमिक पठाउन कुन रोजगार व्यवसायी (म्यानपावर कम्पनी) ले कुन कुन कामको माग ल्याएको छ र के कस्ता सेवा सुविधा पाइन्छ भन्ने जानकारी वैदेशिक रोजगार विभागको वेबसाइटमार्फत थाहा पाउन सकिन्छ ।

यसका लागि विभागको वेबसाइट www.dofe.gov.np  मा गई वैदेशिक रोजगारीको खोजी लेखिएको ठाउँमा क्लिक गरी आफूलाई आवश्यक परेको जानकारी खोज्न सकिन्छ ।

लिस्बनमा रहेको नेपाली महावाणिज्य दूतावास पोर्चुगलमा रहेको एक मात्र नेपालको प्रतिनिधित्व गर्ने निकाय हो।

नेपाली अवैतनिक महावाणिज्य दूतावास, लिस्वन (Consulate of Nepal In Lisbon)

वेबसाइट: www.consuladodonepal.pt

ठेगाना: अभिनिडा मिगेल बूमबार्डदा (Avenida Miguel Bombarda) 133, 6° आनदार (Andar-E),1050-164 लिस्वन, पोर्चुगल (Lisbon, Portugal)

फोन: 00351-21-3555345 

इमेल: [email protected]

तपाईको प्रतिक्रिया