रुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका ८ जना युवा सम्पर्कविहीन

 फागुन २८, २०८० सोमबार १८:२२:३७ | रासस
unn.prixa.net

फाइल फाेटाे

तनहुँ – रुसी र युक्रेनी सेनामा भर्ना भएका तनहुँका आठ जना युवा सम्पर्कविहीन भएका छन् । व्यास नगरपालिकाका तीन, देवघाट गाउँपालिकाका एक, भानु नगरपालिकाका दुई, शुक्लागण्डकी नगरपालिकाका एक र म्याग्दे गाउँपालिकाका एक गरी आठ जना युवा सम्पर्कविहीन भएका हुन् ।

भिजिट भिसामार्फत रुस गएर सेनामा भर्ना भएका उनीहरूको खोजी गरिदिन पीडितका परिवारले माग गरेका छन् । सुरक्षित आप्रवासन कार्यक्रम (सामी) तनहुँकी कार्यक्रम संयोजक लुना रानाले रुसी सेनामा भर्ना हुन गएका सात र युक्रेनमा भर्ना हुन गएका एक गरी आठ युवा सम्पर्कविहीन भएपछि खोजीका लागि परिवारजनले निवेदन दिएको जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएका व्यक्तिका परिवारजनले खोजी तथा उद्धारको मागसहित निवेदन दिएका उहाँले बताउनुभयो । गैरकानुनीरूपमा गएकाले पूर्णरूपमा काम गर्न सहज नभएको उनीहरूको भनाइ छ । आप्रवास स्रोत केन्द्रकी परामर्शदाता गोमा तिवारीले सम्पर्कविहीन भएका व्यक्तिलाई छिटोभन्दा छिटो नेपाल झिकाइ पाउँ भनेर निवेदन दिएको जानकारी दिनुभयो ।

सम्पर्कविहीन भएका व्यक्तिको खोजीका लागि कन्सुलर विभागमा व्यक्तिको कागजातसहितका सम्पूर्ण कागजात पठाइसकिएको तिवारीले बताउनुभयो । रुसमा बेपत्ता भएका व्यक्तिको खोजीका निम्ति पहल भइरहेको छ । युक्रेनमा सम्पर्कविहीन भएका व्यक्तिको त्यहीँ दूतावास नभएकाले रुसी कन्सुलर विभागमार्फत नै खोजी भइरहेको आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।

दुई/तीन महिनायतादेखि परिवारसँग नै उनीहरू सम्पर्कमा नभएकाले खोजीको पहल भइरहेको छ । अवैधानिक बाटो हुँदै रुसी सेनामा भर्ना हुन गएका व्यक्ति त्यहीँ भर्ना भए पनि फर्केर आउन सहज भने नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया