विदेशमा पाएको दुःख कसरी बिर्सनु !

 फागुन ३०, २०८० बुधबार ७:३२:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

बसन्त गौतम/काठमाण्डौ

विदेशिने कसैलाई रहर हुँदैन । देशमा बसेर विदेशको सपना देख्नु र यहाँ आएर काम गर्नुमा आकाश जमिनको अन्तर छ । हाल म काठमाडौमा दुई वर्षअघि वैदेशिक रोजगारका लागि कतार पुगेको थिएँ।त्यसबेला मैले म्यानपावरलाई ३ लाख २० हजार रुपैयाँ बुझाएँ । कतारमा कामकै लागि मोटरसाइकल चाहिने भएकोले लाइसेन्सको प्रक्रिया पूरा गरेँ ।

तर, लाइसेन्स बनाउन चार महिना लाग्यो । त्यसपछि बल्ल साहूले मलाई काम दिए । तर, चार महिनाको सबै तलब काटियो । काम ठिकठाकै चलिरहेको थियो । एकदिन कामकै सिलसिलामा म मोटरसाइकल दुर्घटनामा परेँ मोटरसाइकल घटनास्थलमै राखेर मलाई अस्पताल पठाइयो । यो सबैबारे जानकारी दिँदै मैले घटनास्थलको विवरण कम्पनीलाई पठाएको थिएँ । ज्यान त जोगिएको थियो, कम्पनीको सामान पनि हिनामिना नहोस् भन्ने थियो ।

म अलि निको भएर काममा गएँ । त्यहाँ पुग्नासाथ कम्पनीका म्यानेजरले घटनास्थलमा मोटरसाइकल नभेटिएको बताए । साथै, मोटरसाइकल चोरीको आरोप पनि लगाए । म्यानेजरको कुराले जति रिस उठ्यो त्यति नै अचम्म पनि लाग्यो । कारण, मसँगै काम गर्ने साथीहरुले मोटरसाइकल ५–६ दिनसम्म कम्पनीमै भएको बताए र मोटरसाइकल खोज्न भने ।

मैले कतारका सबै प्रहरी चौकी धाएँ तर मोटरसाइकल कतै फेला परेन । यो सबै मलाई नै फसाउने तयारी भएको मानेर लेबर कोर्टमा उजुरी दिएँ । अप्ठ्यारो पनि कस्तो कस्तो आइपर्ने ! मैले दिएको उजुरीमा सुनुवाइ नै भएन । मैले कम्पनीमा गएर मलाई फसाउन लागेको भन्दै झगडा गरेँ । मलाई थुनामा राखियो । त्यसपछि बल्ल न्यायाधीशसँग कुरा राख्ने मौका पाएँ । मैले ‘मलाई पैसा चाहिँदैन । मलाई नेपाल फर्काइदिनुस्’ भनी अनुरोध गरेँ । मैले यदि तलब र पैसाको कुरा गरेको भए म नेपाल आउन पाउने थिइनँ ।

अदालतको सुनुवाइ अनुसार प्रहरीले मलाई सिआडीलाई बुझाए । सिआइडीले कम्पनीसँग मेरो पासपोर्ट माग्यो तर कम्पनीले दिएन । सिआइडीले राजदूतावासबाट २४ घण्टे पासपोर्ट बनाएर मलाई नेपाल फर्काइयो । तलब छोडेर आउनुपरेकोमा मन भारी भएको थियो । तर, अर्काको कारण आइपरेको समस्याबाट बाहिर निस्किन पाएकोमा सन्तोष लाग्यो ।

नेपाल फर्किएर मैले वैदेशिक रोजगार बोर्डमा उजुरी दिएँ । तर, सुनुवाइ भएन । पछि मसँग भएका सबै प्रमाण देखाएपछि म्यानपावरले डेढ वर्षमा बल्ल बल्ल १ लाख ५० हजार रुपैयाँ फिर्ता गर्यो । अहिले सोच्छु, म यहीँ काठमाण्डौमा बस्ने भएकाले वैदेशिक रोजगार विभाग गएर त्यति पैसा भए पनि फिर्ता पाएँ । तर, मोफसलमा बस्ने र काठमाण्डौ आएर उजुरी दिइ आफ्नो घर फर्किनेहरुले अझै न्याय पाएका छैनन् ।

तपाईको प्रतिक्रिया