कुवेतमा ज्यान गुमाएका तीन नेपालीको शव नेपाल ल्याउने तयारी

 चैत २, २०८० शुक्रबार ९:४०:१९ | रासस
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले कुवेतमा सडक दुर्घटनामा ज्यान गुमाएका तीन नेपाली श्रमिकको शव यथाशिघ्र नेपाल फर्काउने तयारी भइरहेको जानकारी दिनुभएको छ । मृतक श्रमिकको शव नेपाल फर्काउनका लागि कुवेतमा रहेको नेपाली दूतावास तथा वैदेशिक रोजगार बोर्डलाई आवश्यक पहल गर्न निर्देशन दिएको उहाँले बताउनुभयो ।

उहाँले कुबेतमा रहेको नेपाली दूतावासमा सम्पर्क गरी मृतक श्रमिक र परिवारको विषयमा जानकारी लिनुभएको थियो । गत मङ्गलवार बिहान कुबेतको महाबुल्ला क्षेत्रको सी साइड सडकमा भएको दुर्घटनामा परी एकै कम्पनीमा कार्यरत तीन जना नेपाली श्रमिकको ज्यान गएको हो । ज्यान गुमाउनेमा काठमाण्डौ सानो भर्‍याङका सुजन कार्की, अछामका सुरतबहादुर कडायत र धनुषाका धीरज गुर्मछान मगर रहेका छन् ।

मन्त्री अर्यालले कुबेतमा रहेको दूतावासले मृतक श्रमिकका परिवारले पाउने क्षतिपूर्तिको लागि घटनाको प्रकृतिको सम्बन्धमा थप बुझ्न स्थानीय कानुन व्यवसायी परिचालन गरिएको पनि जानकारी दिनुभएको छ । 
 

तपाईको प्रतिक्रिया