आठ महिनामा झण्डै पाँच लाख नेपाली रोजगारीको लागि विदेश गए

विदेश जाने घटे पनि रेमिट्यान्स भने बढ्दो

 चैत ३, २०८० शनिबार १५:२:१७ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ — चालु आर्थिक वर्ष २०८०/८१ को आठ महिनामा चार लाख ७१ हजारभन्दा धेरै नेपाली रोजगारीको लागि विदेश गएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार साउनदेखि फागुनसम्ममा चार लाख ७१ हजार दुई सय १० जना नेपाली नागरिक कामको लागि विदेशिएका छन् । तर यो सङ्ख्या पोहोरको आठ महिनाको तुलनामा भने १३ प्रतिशतले कम हो ।

विभागका अनुसार गएको आथिर्क वर्षको साउनदेखि फागुनसम्ममा पाँच लाख ४० हजार ६ सय जना नेपाली कामको लागि विदेशिएका थिए । चालू आर्थिक वर्षको आठ महिनामध्ये सबैभन्दा धेरै मङ्सिरमा ७१ हजार दुई सय ७६ जना र सबैभन्दा कम कात्तिकमा ४३ हजार छ सय २२ जना विदेशिएका छन् ।

वैदेशिक रोजगारीका गन्तव्यमध्ये यूएई सबैभन्दा धेरै नेपालीको गन्तब्य बनेको छ । फागुनमा मात्रै १८ हजार सात सय सात जना नेपाली युवाहरु रोजगारीका लागि यूएई पुगेका छन् ।

विदेशिने नेपालीको सङ्ख्या घटे पनि रेमिट्यान्स भने बढेको छ । नेपाल राष्ट्र बैंकको तथ्यङ्क अनुसार चालू आर्थिक वर्षको सात महिनामा आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

रेमिट्यान्स गएको वर्षको सात महिनाको तुलनामा २१ दशमलव १६ प्रतिशतले बढेको हो । 

तपाईको प्रतिक्रिया