साउनदेखि फागुनसम्ममा चार लाख ७१ हजारले लिए श्रम स्वीकृति

 चैत ५, २०८० सोमबार ९:१६:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

साङ्केतिक तस्बिर

काठमाण्डौ – चालु आर्थिक वर्षको पहिलो आठ महिना अर्थात साउनदेखि फागुनसम्ममा रोजगारीका लागि श्रम स्वीकृति लिएर विदेश जानेको सङ्ख्या चारलाख ७१ हजार पुगेको छ । वैदेशिक रोजगार विभागका अनुसार यो गएको आर्थिक वर्षको यही अवधिभन्दा १३ प्रतिशतले कम हो । यस आर्थिक वर्षको अहिलेसम्म सबैभन्दा धेरै मंसिरमा ७१ हजार र सबैभन्दा कम कात्तिकमा ४३ हजार जना बिदेसिएका छन् ।

फागुन महिनामा ६५ हजार ६५८ जनाले श्रम स्वीकृती लिएको विभागको तथ्याङ्कले देखाएको छ । यो नयाँ तथा पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या हो । फागुनमा कामको खोजीमा विदेशिनेमध्ये ६ हजार ७ सय ६८ महिला छन् भने ५८ हजार ८९३ जना पुरुष रहेका छन् । अघिल्लो वर्ष फागुनमा मात्र ६१ हजार ८ सय ४५ नेपाली विदेशिएका थिए ।

वैदेशिक रोजगारीको सिलसिलामा सबैभन्दा धेरै युनाइटेड अरब इमिरेट्स (यूएई) मा नेपाली गएका छन् । फागुनमा मात्र १८ हजार ७ सयले यूएईका लागि श्रम स्वीकृति लिएको विभागको तथ्याङ्क  छ । बितेको आठ महिनामा यूएईका लागि एक लाख २० हजारभन्दा धेरैले श्रम स्वीकृति लिएका छन् ।

यूएईपछि दोस्रो श्रम गन्तव्य देश कतार रहेको छ । यस अवधिमा कतारका लागि ९२ हजार ११४ जनाले श्रम स्वीकृति लिएका छन् ।

यस्तै साउदी अरब जानका लागि ९१ हजार ९२९ जनाले र मलेसियाका लागि ६४ हजार ९७६ जनाले श्रम स्वीकृति लिएका छन् ।

श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जानेको सङ्ख्या बढेसँगै रेमिट्यान्स पनि बढेकोे छ । नेपाल राष्ट्र बैंकको पछिल्लो तथ्याङ्क अनुसार चालु आर्थिक वर्षको सात महिनासम्म आठ खर्ब ३९ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ ।

तपाईको प्रतिक्रिया