सल्यानमा छैनन् शल्यक्रिया गर्ने डाक्टर

 कात्तिक ३०, २०७५ शुक्रबार १८:७:२६ | पुरुषोत्तम गिरी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

सल्यान – सुत्केरी बेथा लागेर सुत्केरी हुन जिल्ला अस्पताल सल्यान आएकी २३ वर्षीया अमृता बुढाथोकीको पेटमा रहेको बच्चा उल्टो भएपछि तत्काल शल्यक्रिया गर्नु पर्ने अवस्था आयो । तर समस्या के भयो भने जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नै भएनन् र उहाँलाई दाङ रिफर गर्नुपर्यो ।

केही साता अघिसम्म जिल्ला अस्पताल सल्यानबाट सबैले सजिलै पाउँदै आएको सेवा प्रभावित हुँदा सेवाग्राही समस्यामा परेका छन् । दुर्गम क्षेत्रबाट शल्यक्रिया गर्न आएका बिरामीलाई त झनै समस्या हुने गरेको छ । जिल्ला अस्पताल सल्यानमा चिकित्सक नहुँदा शल्याक्रिया सेवा अवरुद्द भएको छ ।

अस्पतालमा चिकित्सक अभावका कारण गएको दुई हप्तादेखि शल्यक्रिया सेवा प्रभावित हुँदै आएको होे । अस्पतालमा सुरक्षित मातृत्व गराउन निक साइमन नामक संस्थाले पठाएका डाक्टर प्रदीप शर्माले शल्यक्रिया सेवा दिँदै आउनुभएको थियो ।

तर कात्तिक १४ गतेदेखि उहाँको समयावधि सकिएर जानुभयो । अस्पतालमा नयाँ चिकित्सक आएका छैनन् । चिकित्सक नभएका कारणसेवा प्रभावित भएको अस्पताल स्रोतले जनाएको छ ।

यस अवधिमा अस्पतालमा सेवा लिन आएका विभिन्न प्रकारका शल्यक्रिया गर्नु पर्ने अवस्थाका २५ जना बिरामीलाई दाङ जिल्ला रिफरगरिएको जिल्ला स्वास्थ्य कार्यालय सल्यानका प्रमुख अर्जुन बुढाले बताउनुभयो ।

‘गएको दुई साता यता अस्पतालमा सुत्केरी हुन आएकामध्ये पाँचजना शल्यक्रिया गर्नु पर्ने अवस्थाका महिलाहरुलाई समेत दाङ जिल्ला रिफर गर्नु पर्यो’, प्रमुख बुढाले भन्नुभयो, ‘अहिले शल्यक्रिया गर्ने चिकित्सक नहुँदा बिरामी सेवा पाउनबाट बञ्चित भएका छन् ।’

महिलाहरुलाई शल्यक्रिया गर्नु परेमा छिमेकी जिल्लाहरुमा रिफर गर्नु पर्ने बाध्यता रहेको कार्यालय प्रमुख बुढाले बताउनुभयो । ‘पहिले हामीले यसै अस्पतालबाट शल्यक्रिया सेवा दिने गरेक थियौं, तर अहिले चिकित्सकको अभावमा सेवा दिन सकेका छैनौं’, उहाँले भन्नुभयो, ‘यहाँ आएका बिरामीलाई अन्य स्थानमा रिफर गर्नु पर्दा बिरामीले दुःख पाएका छन् ।’

सल्यानका विभिन्न ठाउँहरुमा रहेका स्वास्थ्य संस्थाहरुले शल्यक्रिया गर्नुपर्ने बिरामीहरुलाई जिल्ला अस्पताल सल्यानमा पठाउँछन् । तर पनि जिल्लामा शल्यक्रिया गर्ने चिकित्सक नहुँदा महंगो शुल्क तिरेर जिल्ला बाहिर जान बिामीहरु बाध्य भएका छन् ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

पुरुषोत्तम गिरी

पुरुषोत्तम गिरी सल्यानका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया