उपचुनावका लागि आजदेखि आचारसंहिता लागू : उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने

 चैत २८, २०८० बुधबार ७:३१:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो वैशाख १५ गते हुने उपचुनावका लागि आजदेखि आचारसंहिता लागू भएको छ । इलाम–२ मा हुने प्रतिनिधि सभा र बझाङ १ (क) मा हुने प्रदेश सभा चुनावका लागि आचारसंहिता लागू भएको हो । आचारसंहिता इलाम र बझाङ जिल्लाभर नै लागू हुने निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आचारसंहिता आजदेखि चुनाव सम्पन्न नभएसम्म लागू हुनेछ । आयोगका अनुसार स्वच्छ, स्वतन्त्र,  निष्पक्ष र भयमुक्त वातावरणमा चुनाव सम्पन्न लागू गरिएको आचारसंहिता नेपाल सरकार र नेपाल सरकारका मन्त्री, प्रदेश सरकार र प्रदेश सरकारका मन्त्री, संवैधानिक निकाय र ती निकायका पदाधिकारी, सङ्घीय कार्यपालिका र सदस्य, सङ्घ, प्रदेश र स्थानीय तहका कर्मचारी, सुरक्षा निकाय र सुरक्षाकर्मी तथा कर्मचारी, राजनीतिक दल तथा दलका भ्रातृ सङ्गठन र उम्मेदवार तथा सम्बन्धती व्यक्तिलगायतलाई लागू हुनेछ । आचारसंहिता उल्लङ्घन गर्नेलाई तत्कालै कारबाही हुने आयोगले जनाएको छ ।

इलाम–२ बाट  निर्वाचित  प्रतिनिधि  सभा  सदस्य  सुवासचन्द्र  नेम्वाङ  र  बझाङ  १  (क)  बाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि दुवै क्षेत्रमा उपचुनाव हुन लागेको हो । निर्वाचन आयोगको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको हिजो बसेको बैठकले आचारसंहिताको पालना गर्न जिल्ला आचारसंहिता अनुगमन समितिलाई निर्देशन दिएको छ ।

आयोगले आचारसंहिता पालना तथा राजनीतिक दल तथा उम्मेदवारले गर्न पाउने चुनाव खर्चको सम्बन्धमा आचारसंहिता विपरीत भएमा तत्काल कारबाही गर्ने निर्णय गरेको छ । यस्तै बैठकले वैशाख २ गतेदेखि मतगणना कार्य सम्पन्न नभएसम्म उपचुनाव हुने जिल्लाभित्र जाँड–रक्सी वितरण तथा प्रयोगलाई नियन्त्रण गर्ने/गराउने व्यवस्था मिलाउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

यस्तै आयोगले उपचुनाव हुने क्षेत्रमा वैशाख १३ र १४ गते विद्यालय बन्द गर्न सरकारलाई आग्रह गरेको छ । मतदान हुने दिन १५ गते शनिवार पर्छ । उपचुनाव अन्र्तगत इलाम–२ मा १९ जना तथा बझाङ–१ (क) मा ११ जनाको उम्मेदवारी कायम भएको छ ।

आयोगले हिजो अन्तिम नामावली सार्वजनिक गरेको हो ।

अन्तिम अपडेट: बैशाख १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया