इलाम र बझाङमा मतगणना चल्दै

 बैशाख १६, २०८१ आइतबार १५:०:५० | उज्यालो सहकर्मी
unn.prixa.net

इलाम नगरपालिका–७ गौतमबुद्ध सभागृह हलमा इलाम–२ को प्रतिनिधि सभा उपचुनावकाे मतगणना हुँदै । तस्बिर : रासस

काठमाण्डाै – हिजो उपचुनाव भएका प्रतिनिधि सभा अन्तर्गत इलाम–२ र प्रदेश सभा अन्तर्गत बझाङ १ (क) मा मतगणना भइरहेको छ ।

इलाममा आज दिउँसो १२ बजेदेखि र बझाङमा दिउँसाे २ बजेपछि मतगणना शुरु भएको हो । इलाम नगरपालिका–७ मा रहेको गौतमबुद्ध सभागृहमा मतगणना भइरहेको छ । मतगणनाको प्रारम्भिक विवरण आइसकेको छैन ।

इलाममा नेपाली कांग्रेसका डम्बरबहादुर खड्का, नेकपा एमालेका सुहाङ नेम्वाङ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मिलन लिम्बु र स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह लिम्बुबीच मुख्य प्रतिस्पर्धा हुने अनुमान छ । हिजो भएको मतदानमा झन्डै ६० प्रतिशत अर्थात् ६९ हजार २ सय ८७ मत खसेको छ ।

२०७९ साल मङ्सिर ४ गते भएको प्रतिनिधि सभा सदस्यको चुनावमा इलाम–२ बाट निर्वाचित एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि रिक्त पदमा उपचुनाव भएको हो । उपचुनावमा १८ जना उम्मेदवार छन् ।

यस्तै बझाङको प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर–१ (क) मा भएको उपचुनावको मतगणना भइरहेको छ । यहाँ कांग्रेसका अभिषेकबहादुर सिंह, एमालेका दमनबहादुर भण्डारी, नेकपा (माओवादी केन्द्र) का जनकबहादुर बुढाबीच मुख्य प्रतिस्पर्धा हुने देखिएको छ ।

बझाङमा हिजो भएको मतदानमा झन्डै ५० प्रतिशत अर्थात् ३० हजार ३ सय २८ मत खसेको छ । चुनावमा ११ दलका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन् । कांग्रेसबाट निर्वाचित प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको निधन भएपछि उपचुनाव भएको हो ।

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया