वैदेशिक रोजगारमा जाने श्रमिकलाई टिकटमै अत्यावश्यक सुविधाको व्...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडाैं - शहीद स्मारक ए डिभिजन फुटबल लिगको दोस्रो चरणका खेलहरु शनिबारदेखि सुरु भएका छन् ।
एक महिनाको अन्तरमा पुनः सुरु भएको लिगमा शनिबार भएका खेलमा त्रिभुवन आर्मी र मनाङ मर्स्याङदी विजयी भएका छन् ।
हलचोकमा रहेकाे एपीएफ क्लबको मैदानमा आर्मीले च्यासन युथ क्लबलाई १–० गोलले हराउँदै लिगमा पहिलो जित निकालेको छ । यसअघि पहिलो चरणमा उसले एनआरटीसँग बराबरी खेलेको थियो । आर्मीले पहिलो हाफमै अग्रता बनाएको थियो ।
२९ औंं मिनेटमा गोल गर्दै अग्रता लिएको आर्मीले अन्तिमसम्म उक्त अग्रता जोगाउन सफल भयो । आर्मीका लागि विकास खवासले गोल गरेका थिए । पहिलो हाफमा १ गोलले पछि परेको च्यासलले दोस्रो हाफमा गोल फर्काउने प्रयास गरे पनि सफल हुन सकेन ।
लामो समयपछि घरेलु फुटबलमा पुनरागमन गरेका भेट्रान स्ट्राइकर सन्तोष साहुखलले च्यासलबाट लिग खेलेका छन् । उनी पछिल्लो तीन वर्षदेखि जापानमा थिए ।
शनिबारै भएको खेलमा मनाङ मर्स्याङदीले न्युरोड टिम एनआरटीलाई २–० ले हराउँदै लिगमा लगातार दोस्रो जित निकाल्यो । मनाङले दुवै गोल पहिलो हाफमा गरेको थियो ।
एपीएफ मैदान हलचोकमा मनाङका अञ्जन विष्टलाई एनआरटीका खेलाडीले लडाए पछि पाएको पेनाल्टीलाई अञ्जनले नै गोलमा परिणत गर्दै सुरुआती अग्रता दिलाएका थिए । ३७औं मिनेटमा मनाङका अफ्रिकन खेलाडी ओलावाले आफिजले दोस्रो गोल गरेका थिए ।
त्यसपछि थप गोल हुन नसके पछि मनाङले तीन अंक जोड्न सफल भयो ।