वायु प्रदूषण बढेपछि पर्यटकले हिमाल हेर्न पाएनन्, मुख्य सिजनमै पर्यटन व्यवसायमा क्षति

 बैशाख १९, २०८१ बुधबार १५:६:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पदयात्रा गर्दै हिमाल हेर्ने मुख्य मौसममा वायु प्रदूषण बढेपछि पर्यटकहरू समस्यामा परेका छन् । वायु प्रदूषण बढेर तुवाँलो लाग्दा हिमालसमेत छोपिएको छ भने पर्यटकको यात्रा पनि प्रभावित भएको छ ।

लगातार दुई दिन प्रयास गर्दा पनि आफूले विदेशी पर्यटकलाई पोखरामा पुर्‍याउन नसकेको पर्यटन व्यवसायी फुर्वा शेर्पाले बताउनुभयो । पोखरामा बाक्लो तुवाँलो लागेका कारण दुई हप्तादेखि हवाई उडान प्रभावित भइरहेको छ । बितेका केही दिनदेखि त कैयौँ उडान स्थगित नै भएका छन् ।

यस्तै पोखरा पुगेका पर्यटकहरूले पनि तुवाँलोले ढाकेका कारण हिमालको सुन्दरता नियाल्न पाएका छैनन् । मौसम खुल्दा काठमाण्डौ आसपासका डाँडाहरूबाट पनि हिमाल हेर्न पाइन्थ्यो । तर अहिले हिमालहरू तुवाँलोले छोपिएका छन् । छोटो बिदामा नेपाल आउने पर्यटकहरूलाई व्यवसायीले काठमाण्डौ उपत्यका आसपासकै डाँडाहरूमा लगेर हिमाल देखाउने गरेका थिए ।

काठमाण्डौ र पोखरा मात्र नभई उच्च पहाडी क्षेत्रमा नपुगी हिमाल हेर्न सकिने पहाडी क्षेत्रका गन्तव्यहरूबाट अहिले हिमाल देख्नै मुस्किल पर्छ । यस बेला देखिएको तुवाँलो वायु प्रदूषणको कारण भएको वायु गुणस्तरविज्ञ डा. भूपेन्द्र दास बताउनुहुन्छ ।

लामो समयदेखि पानी नपर्दा भएको सुक्खापन र देशका धेरै ठाउँमा भइरहेको डढेलो र आगलागीका कारण अहिले वायु प्रदूषण बढेको हो । वायु प्रदूषणका कारण स्वास्थ्यमा असर गर्नुका साथै पर्यटन व्यवसायमा समेत क्षति पुगेको छ ।

पोखराका व्यवसायीहरू तुवाँलोकै कारण मुख्य सिजनमै पर्यटक नआएका बताउँछन् । प्याराग्लाइडिङको उडान पनि औसतमा आधाभन्दा धेरै घटेको व्यवसायीको भनाइ छ । अन्य गन्तव्यमा पनि विदेशीसँगै आन्तरिक पर्यटकसमेत घटेका व्यवसायीहरू बताउँछन् ।

तस्बिर : म्यारी मुनिककाे फेसबुकबाट

अन्तिम अपडेट: जेठ ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया