बजेट अधिवेशनकाे लागि सबै तयारी पूरा, सभामुखले शीर्ष नेतासँग छलफल गर्दै

 बैशाख २५, २०८१ मंगलबार ९:२६:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आउँदो शुक्रवारदेखि शुरु हुने बजेट अधिवेशनको सम्पूर्ण तयारी पूरा भएको छ । संसद् सचिवालयका प्रवक्ता एकराम गिरीकाअनुसार सचिवालयले अधिवेशनका लागि गर्नुपर्ने आन्तरिक व्यवस्थापन र तयारीका सबै काम पूरा गरेको छ । यो अधिवेशनमा आउँदो आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनका साथै आर्थिक, विनियोजन र राष्ट्र ऋण उठाउने विधेयक प्रस्तुत हुनेछ ।

सरकारले हरेक वर्ष जेठ १५ गते वार्षिक आय व्ययको अनुमानित विवरण प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले सङ्घीय संसद्का दुवै सदनको बैठक आह्वान गरिसक्नुभएको छ । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सहकारीमा भइरहेको बेतिथिको विषय उठाएर छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि संसद्को हिउँदे अधिवेशन अन्त्य भएको थियो ।

शुक्रवारदेखि शुरु हुने बर्खे अधिवेशन अघि सभामुख देवराज घिमिरेले आज प्रमुख दलका शीर्ष नेताहरुको बैठक बोलाउनुभएको छ । बैठक बिहान साढे ११ बजे सिंहदरबारमा रहेको सभामुख घिमिरेको कार्यकक्षमा बस्दैछ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेका अध्यक्ष केपी शर्मा ओली, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनलाई बैठकमा बोलाइएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथी छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिको अधिवेशनमा संसद अवरुद्ध गरेकोमा व्यक्ति नै किटान गरेर नभई सङ्कटमा रहेका सहकारी संस्थाको समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिने सत्ता गठबन्धनले बताउँदै आएको छ । तर नेपाली कांग्रेसले लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने अडान लिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया