सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सर्वदलीय निर्णय भयो भने सहमत हुन्छौँ : रास्वपा

 बैशाख २५, २०८१ मंगलबार १२:४४:५० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सहकारी प्रकरणमा संसदीय छानबिन समिति बनाउन सर्वदलीय निर्णय भयो भने सहमत हुने जनाएको छ ।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकपछि सांसद मनिष झाले सबै राजनीतिक दलले समिति बनाउन स्वीकार गर्ने अवस्थामा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न आफूहरू सहमत हुने बताउनुभयो ।

आजको बैठकले आउँदो बजेट अधिवेशनमा पार्टीको भूमिकाबारे पनि छलफल गरेको सांसद झाले जानकारी दिनुभयो । बैठकमा बजेटको बारेमा नीति तथा कार्यक्रम र आफ्नो दलको तर्फबाट सरकारमा पाएको मन्त्रालयको बारेमा कठोर रूपमा प्रस्तुत हुनेबारेमा छलफल भएको उहाँले बताउनुभयो । उहाँले मन्त्रालयहरूलाई सत्ता पक्षमात्र नभई जनप्रतिनिधिको रूपमा हेर्नेगरी अघि बढ्ने बारेमा छलफल भएको बताउनुभयो ।

सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका उपप्रधान एवम् गृहमन्त्री लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन हुनुपर्ने माग राखेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले यसअघिको अधिवेशनमा संसद् अवरुद्ध गरेकोमा व्यक्ति नै किटान गरेर नभई सङ्कटमा रहेका सहकारी संस्थाको समग्र समस्या समाधान गर्ने गरी संसदीय समिति बनाउन सकिने सत्ता गठबन्धनले बताउँदै आएको छ । तर नेपाली कांग्रेसले लामिछानेलाई बाहिर राख्ने गरी छानबिन समिति बन्न नसक्ने अडान लिएको छ ।

अन्तिम अपडेट: जेठ ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया