आज अक्षय तृतीया : जौको सातु र सर्वत खाएर मनाइँदै

 बैशाख २८, २०८१ शुक्रबार ६:३१:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – आज वैशाख शुक्ल तृतीया अर्थात अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदैछ । गर्मी बढ्ने समयमा शीतलता प्रदान गर्ने आहारको रुपमा जौको सातु र सर्वत पानी खाएर अक्षय तृतीया मनाउने गरिएको जानकारहरू बताउँछन् ।

वैशाख तृतीयाकै दिनदेखि त्रेता युगको सुरुवात भएको मानिन्छ । यही दिन भगवान परशुराम अवतारको जन्म भएको विश्वासमा परशुराम जयन्तीको रूपमा पनि मनाइन्छ । आजको दिन गरेको स्नान, दान र शुभ कर्मलाई विशेष महत्वका साथ हेर्ने गरिन्छ । ज्योतिषशास्त्रकाअनुसार अक्षय तृतीयका दिन सूर्य तथा चन्द्रमा आफ्ना उच्च राशिमा रहने भएकाले यो दिन पञ्चांग नहेरी पनि कुनै पनि शुभकार्य गर्न सकिन्छ ।

विवाह, गृहप्रवेश, पदभार ग्रहण, नयाँ सरसामान खरिद, भूमि पूजा तथा नयाँ व्यापारका लागि आजको दिन अति उत्तम हुने विश्वास गरिन्छ । यसैबीच भक्तपुरको सिपाडोलमा केदारनाथको शिर डोलेश्वर महादेव मन्दिरमा आज अक्षय तृतीयामा लाग्ने मेलाको तयारी पूरा भएको छ । केदारनाथको शिर डोलेश्वर महादेव संरक्षण तथा विकास समितिले मेलाको सबै तयारी पूरा भएको र दर्शनार्थीका लागि बिहान ४ बजेदेखि चारवटै ढोका खुल्ला गरिएको जनाएको छ ।

मन्दिरका चारै ढोकाबाट प्रवेशगरी भक्तजन आफैँले पूजा एवम् दर्शन गर्नेगरी व्यवस्थापन गरिएको छ । समितिका अध्यक्ष धर्मराज बस्नेतले मन्दिरमा अन्य दिन बाहिरबाट मात्र दर्शन गर्न मिल्ने भए पनि केदारनाथको शिर डोलेश्वर महादेव घोषणा भएको दिन भदौ ६ गते, शिवरात्रि र अक्षय तृतीयागरी वर्षमा तीन दिन भने भित्रै प्रवेशगरी पूजा गर्न पाउने व्यवस्था गरिँदैआएको जानकारी दिनुभयो ।  दर्शनार्थीलाई लाइनमा लागेको २० देखि ३० मिनेटभित्रै दर्शन एवम् पूजा गर्नेगरी व्यवस्थापन गरिएको समितिले जनाएको छ ।

अन्तिम अपडेट: जेठ ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया