पेन्सनपछि झन् व्यस्त लामिछाने : माटोको क्यान्सरविरुद्ध निःशुल्क सेवा

 जेठ २८, २०७५ सोमवार ९:१५:१४ | विष्णु विश्वकर्मा
unn.prixa.net

काठमाडाैं – सरकारी जागिर सकिएपछि धेरैजना फुर्सदिला हुन्छन् । तर काठमाडौंको जितफुरफेदीका ६५ वर्षीय भरतप्रसाद लामिछाने झन् बढी व्यस्त हुनुहुन्छ । जागिरबाट पेन्सन भएपछि उहाँ खेती किसानीमा व्यस्त हुन थाल्नुभएको हो । आफू मात्र खेती गर्नुहुन्न, ठाउँठाउँमा पुगेर अरुलाई पनि खेतीपाती सिकाउनुहुन्छ । 

उहाँबाट धेरै किसानले अर्गानिक खेती र जैविक विषादी बनाउने तरिका सिकेका छन् । महंगो रासायनिक मल र विषादी प्रयोगले हैरान भएका किसानलाई उहाँको अर्गानिक खेती र जैविक विषादीले राहत त दिएको छ नै । बिग्रेको माटो, किराले खत्तम पारेको बालीनाली र खेतबारीलाई पनि नयाँ जीवन मिलेको छ ।

‘यसका लागि हजारौं खर्च गर्नुपर्दैन । घरमै भएका गाई, भैंसीको मलमुत्र, वनमारा, सिस्नु, तितेपाती, बकाइनो, टिमुर, लसुन आदिको मात्रा मिलाएर एक भाँडामा ८ देखि १२ हप्तासम्म राख्यो भने जैविक विषादी बनाउन सकिन्छ । सस्तोमा सजिलो गरी बनाउन सकिन्छ । अलिकति विधि भन्ने जान्नुपर्छ’ उहाँले भन्नुभयो । 

माटोको क्यान्सरविरुद्ध निःशुल्क सेवा ! 

नेपाल सरकारका ‘रिटायर्ड’ कर्मचारी लामिछाने पेशाले कृषि प्राविधिक हुनुहुन्छ । जागिरबाट रिटायर्ड भएपनि उहाँले माटो बिगार्ने रासायनिक मल र जैविक विषादीबारे आफ्नो अभियान भने छाड्नु भएको छैन । रासायनिक मलले शुरु शुरुमा उत्पादन बढाएपनि बिस्तारै उर्वराशक्ति नष्ट गर्छ र माटोलाई ‘क्यान्सर’ बनाउँछ । यही कुरा किसानलाई बुझाउन र जैविक विषादी बनाउने तरिका सिकाउन लामिछाने बोलाइएको खण्डमा ठाउँमा निःशुल्क देशका कुना कन्दराका खेतबारीमै पुगेर सेवा दिइरहनु भएको छ ।

‘मलाई अब बुढेसकालमा एक पैसाको पनि लोभ छैन । तर चिन्ता छ । देशको माटो यसरी दिनानुदिन बिग्रदै गयो भने भोलि हामीले के खाने ? कसरी बाच्ने ? कहाँ बस्ने ? त्यसैले कसैले बोलाए भने एक फोनकै भरमा किसान दाजुभाइका खेतबारीमा पुग्छु’ उहाँले भन्नुभयो ।

गाई भैंसी, गोरु, बाख्राको प्राङ्गारिक मल पनि संकलन र व्यवस्थापन गर्न नसक्दा किसानले खेतबारीमा वर्षौंवर्ष मेहनत गरेर फाइदा लिन नसकेको उहाँले बताउनुभयो ।

‘सबैले गाई, गोरु, भैंसीको गोबरलाई संकलन गरेर मल बनाएर बारीमा हाल्छन् । तर खुल्ला ठाउँमै मल संकलन गर्दा र खेतबारीमा लगेर दुई तीन दिनअघि नै छरिदिंदा त्यसभित्रको नाइट्रोजन उडेर जान्छ’ उहाँले भन्नुभयो ‘यसरी मलको महत्व र त्यसको राम्रोसँग प्रयोग गर्न नजान्दा वर्षौं दुःख गरेका किसानले पर्याप्त आम्दानी गर्न पाएका छैनन् । म यही सामान्य कुरा बुझाउनैका लागि किसान दाजुभाइका घर घर पुग्छु ।’

अहिले विदेशबाट फर्केका युवाहरुले बाख्रापालन, कुखुरापालन, बंगुरपालन गर्ने सोच बोकेर आफूसँग सल्लाह लिने गरेको उहाँले सुनाउनुभयो । सरकारले युवा किसानलाई अनुदान दिने कुरा बजेटमा ल्याएपछि विदेशबाट फर्केका युवाहरु कृषिमा झन् आकर्षित भएको उहाँको भनाई छ । तर यसका लागि सरकारले ल्याएको बजेट र अनुदान कार्यक्रम कार्यान्वयन गर्नुपर्ने उहाँको जोड छ ।

‘अहिले पनि नेपालीका लागि कृषि मुख्य पेशा हो । तर नेपाली युवाहरु सम्भावना हुँदाहुँदै पनि विदेशिएका छन् । यसका लागि सरकारले कृषि खेती र व्यवसाय गर्ने युवालाई प्रोत्साहनका लागि अनुदान कार्यक्रम ल्याएको छ । यो कार्यक्रम कसैलाई काखापाखा नगरी कार्यान्वयन गर्नुपर्छ । यसका लागि अर्गानिक खेती र जैविक विषादीको मेरो अभियानले युवाहरुलाई थप बल पुग्छ’ उहाँले भन्नुभयो ।

पढाई एसएसली पास, तलब २४८ रुपैयाँ ! 

तारकेश्वरको जितपुरफेदीमा २०१० सालमा जन्मिएका लामिछानेले २०३० सालमा धर्मस्थली ग्रामसेवा माविबाट एसएलसी पास गर्नु भएको छ । एसएसलसी पासपछि औपचारिक अध्ययन थाती राखेर माटो र बारीमा अध्ययन अनुसन्धान थालेका लामिछानेको पढाई भने अहिले पनि सकिएको छैन ।

‘त्यो समय एसएलसी पास गर्नु भनेको अहिलेको मास्टर्स डिग्री जस्तै थियो । जोकोहीले पढ्नै नसक्ने । पढेपनि पास हुन गाह्रो थियो’ उहाँले भन्नुभयो ‘मैले जसोतसो एसएसली पास गरें । त्यसपछि पढ्न सकेन । जागिर खाएपछि माटो र खेतबारीको पढाई शुरु भयो ।’ त्योबेला उहाँको तलब महिनाको २४८ रुपैयाँ थियो ।

२०३६ सालमा गृह मन्त्रालयको बैठक शाखामा प्राविधिक मुखिया भएर सरकारी सेवा थालेका लामिछाने जागिरका क्रममा पूर्वको इलामदेखि पश्चिमको बाँकेसम्म पुग्नु भएको छ । यसबीचमा उहाँले झण्डै १२ देखि १५ जिल्लाको कृषि प्रणालीका बारेमा राम्रो जानकारीका साथै अर्गानिक खेती र जैविक विषादी बनाउने तरिकाबारे ज्ञान पनि हासिल गर्नु भएको छ ।

गृहपछि कृषि मन्त्रालयमा सरुवा हुनु भएका लामिछानेले जिल्ला कृषि विकास कार्यालय काठमाडौँ अन्तर्गत बालाजु सेवा केन्द्रको प्रमुख भएर काम गर्दा जैविक विषादीबारे सोधखोज गर्न थाल्नु भएको हो ।

रासायनिक र विषादीविरुद्ध शुरु भएको लामिछानेको अभियान अहिले देशका धेरै किसानका खेतबारीसम्म पुगिसकेको छ ।

अन्तिम अपडेट: साउन ४, २०७५

विष्णु विश्वकर्मा

उज्यालोमा कार्यरत विष्णु विश्वकर्मा कृषि र राजनीतिक क्षेत्रमा कलम चलाउनु हुन्छ। उहाँलाई फेसबुकमा भेट्न सकिन्छ।

3 Comments

  • नारायण लाल श्रेष्ठ

    June 12, 2018, 5:38 p.m.

    उहाँसंग सम्पर्क कसरी गर्ने होला । दिन मिल्छ भने मोवाईल नंवर पाँउ ।

  • वीर बहादुर तामाङ

    June 12, 2018, 5:09 a.m.

    तापाईकाे अभियानको लागि सलामी दिन्छु मैले अाज पहिलाेे पटक माटाेलाई पनि क्यान्सर हुन्छ भन्ने कुरा पढ्दै छु ।हाे सहि हाे ।मैले पनि स्वस्थ्य राख्न र रहन सरसफाइ अभियान संचालन गरेकाे छु ।

  • Sabin shrestha

    June 12, 2018, 1:10 a.m.

    मलाई यो समाचार पढेर खुशी लाग्यो / अहिले मा यूएइमा छु, तर मेरो सोचाइ पनि नेपाल गएर अर्गानिक खेती नै गर्ने छ / त्यसैले मा उहाँ श्री लामिछानेजी संग सीधा कुरा गर्न चाहन्छु /यसको बारेमा केहि थप जानकारी लिन पनि चाहन्छु / त्यसकारण के मा उहाँको फोन नम्वर पाउन सक्छु ? Malai yo samachar padhera khushi lagyo. Haal ahile ma UAE maa chhu tarw mero sochai pani Nepal gayera organic kheti nai garne chha. Tesaile ma uha Mr.Lamichne sanga sidha kura garna chahanxu. Yesko barema kehi thap jankari lina chahanxu. Teskaran le garda k k ma uhako phone number pauna sakxu hola?

तपाईको प्रतिक्रिया