बर्सेनि ओरालो लाग्दै अलैँचीको भाउ

 मंसिर २, २०७५ आइतबार १६:४९:६ | उपेन्द्र येक्तेन
unn.prixa.net

पाँचथर – पूर्वी पहाडी जिल्लाको मुख्य नगदे बाली अलैँचीको भाउ बर्सेनि ओरालो लाग्दै गएको छ ।

उत्पादनको मुख्य सिजनमा पनि अलैँचीको मूल्यमा गिरावट आउदा अलैँची किसान मर्कामा परेका छन् । असोज र कात्तिक महिना अलैँची उत्पादन हुने मुुख्य सिजन हो । आइतबार पाँचथर जिल्लामा अलैँची प्रतिमन (४० केजी)को २९ देखि ३२ हजारमा कारोबार भइरहेको छ ।

अलैँची अघिल्लो वर्ष यही समयमा प्रतिमन ३५ हजार रुपैयाँमा कारोबार भएको थियो । नेपालमा उत्पादन भएको अलैँचीको मुख्य बजार भारत हो । नेपालमा उत्पादन भएको ९५ प्रतिशत अलैँची पूर्वी नाका काँकडभिट्टा नाका हुँदै भारत निर्यात हुने गर्दछ । पाँच प्रतिशत भने स्वदेशमै खपत हुने गर्दछ ।

अहिले आएर भारतमा पनि अलैँची उत्पादन बढेपछि नेपालबाट बाहिरिने अलैँचीको मूल्य बर्सेनि घट्दै गएको व्यावसायीहरुले बताएका छन् । केही वर्षअघि प्रतिमन १ लाख २० रुपैयाँसम्म पुगेको अलैँचीको भाउ बर्सेनि क्रमशः ओरालो लाग्दै जाँदा कृषकहरुमा निराश भएका छन् । अलैँचीले राम्रो भाउ पाएपछि अलैँची खेतीतर्फ हौसिएका किसान बर्सेनि भाउ आरोलो लाग्दै गएपछि चिन्तित बनेका छन् ।

मूल्यमा बर्सेनि गिरावट आएपछि पाँचथर जिल्लामा उत्पादन भने वृद्धि हुँदै गएको अलैँची व्यावसायी महासंघका वरिष्ठ उपाध्यक्ष दिपक नेपालले बताउनुभयो । कतिपय व्यापारीले मूल्य बढ्ने आशामा अघिल्लो वर्ष खरिद गरेको अलैँची अहिले पनि गोदाममै थन्क्याएको व्यापारीहरु बताउँछन् ।

अलैँची विकास केन्द्र फिक्कल इलामका अनुसार पूर्वी पहाडी जिल्ला ताप्लेजुङमा तीन हजार ६ सय  ४७ हेक्टर, पाँचथरमा ९ सय ५० र इलाममा दुई हजार हेक्टर जमिनमा अलैँची खेती हुँदै आएको छ ।


 

अन्तिम अपडेट: चैत १४, २०८०

उपेन्द्र येक्तेन

पाँचथरका उज्यालो सहकर्मी उपेन्द्र येक्तेन इगल एफएममा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया