बर्दिया निकुञ्जमा बाघ पछ्याउँदै (फोटो फिचर)

 जेठ २८, २०७५ सोमबार ११:४३:२१ | भावुक योगी
unn.prixa.net

बर्दीया – बर्दिया राष्ट्रिय निकुञ्जमा दिनहुँ पाटेबाघ देख्न थालेपछि निकुञ्जमा बाघ हेर्न आउने पर्यटकहरुको लर्को लाग्न थालेको छ ।

बर्दिया निकुञ्ज बाघको वासस्थानको लागि उपयुक्त मानिन्छ । गर्मी बढेसँगै पानीमा बाघ पौडीन आउने हुँदा निकुञ्ज भित्रै रहेको कर्णाली नदीको भँगालो किनारमा रहेको तिनकुनेलगायतका ठाउँमा दिनहुँजसो अहिले पाटेबाघ देख्न सकिने निकुञ्ज कार्यालयले जानकारी दिएको छ ।

निकुञ्जमा पाटेबाघ अवलोकन गर्न आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले पाटेबाघसँगै गैँडा, हात्ती, चित्तललगायतका जंगली जनावर देख्न पाउँछन् । निकुञ्ज घुम्न आएका आन्तरिक तथा वाह्य पर्यटकहरुले हरेक दिन ९० प्रतिशत भन्दा बढीले पाटेबाघ सँगै गैँडा, जंगली हात्ती, लगायतका वन्यजन्तु देख्न सक्ने निकुञ्जका प्रमुख संरक्षण अधिकृत मनोज शाहले बताउनुभयो ।

निकुञ्ज अवलोकनका लागि आन्तरिक तथा वाह्य पर्यटकहरु पाटेबाघ हेर्न आउन थालेपछि निकुञ्ज आसपास ठाकुरद्धाराका होटल व्यवसायीहरु खुशी भएका छन् । निकुञ्ज आउने पर्यटकहरुले विगतका वर्षमा तीन – चार दिन लगाएर मुस्कीलले बाघ हेर्न पाँउथे, तर आजभोली दिनहुँजसो बाघ देख्न थालिएको शाहले बताउनुभयो । 

बर्दियामा बाघ हेर्नका लागि पैदल हिँडेर जान पाइने सुविधा छ । गैँडा क्याम्पका होटल व्यवसायी रामजीबाबु थापाले भन्नुभयो, ‘आजभोली निकुञ्जमा दिनहुँ बाघ हेर्न आउनेकै लर्को छ ।’ 

बाघलगायतका अन्य बन्यजन्तुका लागि र जैविक विविधताको दृष्टिकोणले निकै धनी मानिने बबई उपत्यकाको मनमोहक दृश्य, घडियाल, गोही र डल्फिनको संरक्षण, बाह्रसिँगाको दोस्रो प्राकृतिक वासस्थान, बाघ, हात्ती र गैंडा तथा अन्य चराचुरुङ्गी अवलोकनका लागि प्रसिद्ध मानिएको बर्दिया राष्ट्रिय निकुञ्जमा वन्यजन्तुको अवलोकन गर्न हरेक वर्ष पर्यटकहरु आउने गर्दछन् ।

अहिले ६२ वटा वयस्क पाटे बाघ रहेको बर्दिया निकुञ्जमा ३७ वटा गैंडा, १ सयभन्दा बढी जंगली हात्ती, ४० हजार बढि चित्तललगायतका वन्यजन्तुहरु छन् । तराई क्षेत्रको सबैभन्दा ठूलो संरक्षित क्षेत्र मानिने बर्दिया राष्ट्रिय निकुञ्ज ९ सय ६८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ । 

बर्दिया राष्ट्रिय निकुञ्जसहित देशैभरीका निकुञ्जमा थालिएको बाघ गणना सकिएकाले र अब केही दिनमा बाघको नतिजा सार्वजनिक हुनेछ । यसपटको बाघ गणनामा बर्दिया निकुञ्जमा पाटेबाघको संख्या वृद्धी हुने निकुञ्जले अनुमान गरेको छ ।

बर्दिया निकुञ्जमा ३७ वटा बाघ रहेका बेला सन् २०२२ भित्र देशभर बाघको संख्या दोब्र बनाउने नेपाल सरकारको लक्ष्य छ । सन् २०२२ सम्म २ सय ५० वयस्यक पाटेबाघको संख्या पुर्याउने लक्ष्य छ ।  अहिले नेपालभर १ सय ९८ वटा बयस्क पाटेबाघ छन् ।

 

अन्तिम अपडेट: बैशाख ४, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया