पञ्चासेमा केबुलकार बन्ने

 मंसिर ४, २०७५ मंगलबार ६:१:१० | रासस

कास्की - धार्मिक एवम् प्राकृतिक रुपले उत्कृष्ट मानिएको पञ्चासेमा करीब रु १० अर्बको लागतमा केबुलकारसहित अन्य पर्यटक लक्षित भौतिक संरचना निर्माण हुने भएको छ । 

पोखराबाट सबैभन्दा नजीकै रहेको पर्यटकीय गन्तव्य पञ्चासेको पञ्चासे टुर्स एण्ड ट्राभल कम्पनी र आरकेडी रियल स्टेट कम्पनीले केबुलकार निर्माणको प्रक्रिया अघि बढाएको हो । कास्की, पर्वत र स्याङ्जाको सङ्गमस्थल पञ्चासेलाई पोखराको अर्को महत्वपूण पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न बृहत् गुरुयोजनासहित अघि बढेको परियोजनाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो । 

जनतासँग छरिएर रहेको पूँजी सङ्कलित गरेर विकासको पूर्वाधार निर्माणमा जुटेको यस परियोजनाले पर्यटन विकासमार्फत मध्यम वर्गीय जनताको जीवनस्तर उकास्न भूमिका खेल्ने उहाँको भनाइ छ । 

पोखरा–२३ स्थित घाँटीछिनामा केबुलकारको तल्लो स्टेशन राखिनेछ । यसको लम्बाइ ८।५ किलोमिटर रहनेछ । केबुलकारमा ८० टावर रहनेछन् । एकै पटक दुई हजार ४०० यात्रु आउन जान मिल्ने केबुलकारले दैनिक दश हजार मानिस बोक्ने सक्ने क्षमता केबुलकारको हुने निर्माण शर्माले बताउनुभयो । 

रु १० अर्बको योजनामध्ये तीन अर्ब केबुलकारमा र त्यसबाहेक बाँकी रकम अन्य संरचना निर्माणमा खर्च हुने सञ्चालक धनप्रसाद उपाध्यायले जानकारी दिनुभयो । तीन हजार रोपनी जग्गा भाडामा लिएर घाँटीछिनामा बनाइने हेरिटेज प्लाजामा स्थानीयवासीले उत्पादन गरेका परम्परागत हस्तकलाका सामान रहनेछन् । पञ्चासेमा पर्यटक लैजानका लागि ६ वर्षमा बनाइसक्ने गरी केबुलकार निर्माण गरिने शर्माले बताउनुभयो । विसं २०७६ साल माघमा शिलान्यास गरेर विसं २०८२ सम्ममा निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याइने उहाँले जानकारी दिनुभयो । 

परियोजना सञ्चालनका लागि आवश्यक जग्गा अधिग्रहणको प्रक्रिया अघि बढेको उहाँको भनाइ छ । रु दश अर्बको लागतमा निर्माण गर्न लागिएको सो परियोजनामा प्रभावित क्षेत्र कास्की, पर्वत र स्याङ्जाका बासिन्दालाई रु तीन अर्ब बराबरको शेयर दिइने भएको छ । त्यसका अलावा कर्पोरेट, पत्रकार, वकिल, राष्ट्रसेवक कर्मचारीलगायत सर्वसाधारण सबैलाई छुट्टाछुट्टै शेयर दिने जनाइएको छ । 

अहिले पञ्चासेमा घुम्न आउने आन्तरिक तथा बाह्य पर्यटक कास्कीको भदौरेसम्म सवारीसाधनमा र त्यहाँबाट पैदल यात्रा गरी जाने गरेका छन् । त्यस्तैगरी पर्वततर्फ चित्रे वा आर्थरडाँडाखर्क गाउँसम्म सवारीसाधन र त्यसपछि तीनदेखि चार घण्टासम्म पैदल जानुपर्ने बाध्यता रहेको छ । 

पोखरालाई शैक्षिक गन्तव्य बनाइने 

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले पोखरालाई शैक्षिक गन्तव्य बनाइने उद्घोष गर्नुभएको छ । विद्यालय क्षेत्र सुधार कार्यक्रममा सहयोग गर्दै आएको नेपालका लागि फिनल्याण्डका राजदूत पे्रती एन्टिनेनसहितको टोलीसँगको छलफल उहाँले पोखरालाई पर्यटनसँगै शैक्षिक गन्तव्य बनाउन महानगर लागिपरेको बताउनुभयो । उहाँले महानगरले शिक्षा कार्यविधि बनाइसकेको र सीमित स्रोतसाधनलाई उच्चतम प्रयोग गरी गुणस्तरीय शिक्षा दिने गरी काम अगाडि बढाएको बताउनुभयो । 

कार्यक्रममा उपप्रमुख गुरुङले एक वडा एक स्मार्ट विद्यालय बनाउने योजना महानगरले ल्याएको बताउनुभयो । प्रमुख प्रशासकीय अधिकृत पौडेलले सङ्घीय संरचनाअनुसार शिक्षाको जिम्मेवारी महानगरमा आएकाले शिक्षामा प्राथमिकता दिई योजनाबद्ध रुपमा काम गरिने बताउनुभयो । 

शिक्षा महाशाखा प्रमुख आचार्यले शैक्षिक सत्र २०७६ देखि महानगरकाभित्रका विद्यालयका कक्षा कोठालाई धुलोमुक्त बनाएर सेतोपाटी राखिने तथा २११ सामुदायिक र १७८ संस्थागत विद्यालय भएको जानकारी दिनुभएको थियो । 

छलफलमा राजदूत एन्टिनेनले योजनाबद्ध रुपमा काम गरेमा पोखरालाई शैक्षिक गन्तव्य बनाउने योजना पूरा हुने बताउनुभयो । राजदूतसहित १५ जनाको टोलीले पोखराका केही विद्यालयको भ्रमणसमेत गरेको थियो । 

अन्तिम अपडेट: पुस १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया