जनकपुर–लखनऊ बस सेवा शुरु

 मंसिर ४, २०७५ मंगलबार ६:१५:५१ | रासस

धनुषा - भारतको उत्तर प्रदेशको राजधानी लखनऊबाट प्रदेश २ को राजधानी जनकपुरसम्म बस सेवा शुरु भएको छ । 

नेपाल सरकारले लखनऊबाट जनकपुरसम्म सञ्चालन गर्न दुई वटा बसलाई अनुमति दिएको छ । उत्तर प्रदेश सरकारले सञ्चालन गर्दै आइरहेको अवध डिपोको ५२ सिट क्षमतासहितको एसी बस सञ्चालनमा ल्याएको छ । लखनऊको आलमबाग बसपार्कबाट हरेक दिन जनकपुरका लागि बस छुट्ने बताइएको छ ।

लखनऊबाट दिउँसो २ बजे हिँड्ने बस ६९२ किलोमिटर यात्रा पूरा गरी भोलिपल्ट बिहान ६ बजे जनकपुर पुग्ने छ । उक्त दुरीमा यात्रु भाडा भारतीय रु ९२८ कायम गरिएको छ । 

जनकपुर अञ्चल बस व्यवसायी सङ्घका अध्यक्ष मनोज चौधरीले भारत सरकारले जनकपुरसम्म बस पठाए पनि नेपालका तर्फबाट बस सञ्चालनका विषयमा टुङ्गो लाग्न नसकेको बताउनुभयो । जनकपुरबाट बस छुट्ने समयबारे छलफल चलिरहेको उहाँले जानकारी दिनुभयो ।

जनकपुर–पटना बस सेवा व्यवस्थापन गर्दै आएका सुमन्तकान्त ठाकुरले लखनऊबाट बस जनकपुरसम्म आइपुगे पनि भारतीय पक्षले आफूहरुलाई कुनै जानकारी नै नदिएको जानकारी दिनुभयो । लखनऊबाट अयोध्या हुँदै हिँडेको बस आइतबार अपराह्न जनकपुर पुगेको थियो । 

गत वैशाख २९ गते जनकपुर भ्रमणका क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या बस सेवाको उद्घाटन गरे पनि उक्त बस सेवा नियमित हुन सकेको छैन् । 
 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया