वन्यजन्तुलाई घुमफिर गर्न घाँसे मैदान

 मंसिर ४, २०७५ मंगलबार ९:३८:२ | दयाराम आचार्य
unn.prixa.net

नवलपरासी – चितवन राष्ट्रिय निकुञ्ज मध्यवर्ती क्षेत्र अन्तर्गतको नमूना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहले वन्यजन्तुका लागि घाँसे मैदान ब्यवस्थापन गर्दै आएको छ ।

निकुञ्जमा रहेका वन्यजन्तु  बासस्थान र  आहाराको अभावमा बस्तीमा  पस्ने गर्छ । जसले गर्दा मध्यवर्ती आसपासका स्थानीय वन्यजन्तुको त्रासमा बस्नुपर्ने अवस्था छ । यसलाई व्यवस्थापन गर्नका लागि नमूना मध्यवर्ती सामुदायिक वनले प्रत्येक वर्ष  घाँसे मैदानको व्यवस्थापन गर्दै आइरहेको छ  ।  नमूना मध्यवर्ती सामुदायिक वन भित्र एक सय २५ हेक्टर क्षेत्रफलको घासेमैदान रहेको छ ।

वन्यजन्तु आहाराको खोजीमा बस्तीमा नआउन् , उपयुक्त बास स्थान निर्माण होस भनेर सामुदायिक वनले घाँसे मैदानको व्यवस्थापन गर्दै आएको नमूना मध्यवर्ती सामुदायीक वनका सचिव द्रोपती गुरौले जानकारी दिनुभयो ।

घासेमैदानका कारण गैंडा ,मृग, हरिणलगायतका वन्यजन्तुको आहाराका लागि सहजता पुगेको सचिव गुरौले जानकारी दिनुभयो । वन्यजन्तुको लागि वासस्थान र आहार दुवै हुने भएपछि बस्ती पस्ने क्रम पनि कमी हुने विश्वास लिइएको छ ।

घासेमैदान पर्यटकीय दृष्टिकोणले पनि निकै महत्वपूर्ण मानिन्छ । घासे मैदानको निर्माण र व्यवस्थापनसँगै यहाँ गैंडालगायतका वन्यजन्तुको बासस्थान र चरन क्षेत्र बनेको छ । जसका कारण जीप सफारी, हात्ती सफारीमा आउने पर्यटक नमूना मध्यवर्ती सामुदायिक वन क्षेत्रमा फैलिएको घाँसे मैदान पुग्ने गरेका छन् । 

घाँसे मैदान सँगै नमूना मध्यवर्ती सामुदायिक वनले सिमसार क्षेत्रको समेत व्यवस्थापन गर्दै आइरहेको छ । वन क्षेत्रभित्र ७५ हेक्टर क्षेत्रमा सिमसार रहेको छ । वन्यजन्तुको संरक्षण र पर्यटकीय दृष्टिकोणले पनि घासेमैदान महत्वपूर्ण भएका कारण यसको व्यवस्थापनमा वन समूह लागि परेका छ ।

 गएको वर्ष ३० हेक्टर क्षेत्रफलमा मिचाहा प्रकृतिको झार, विरुवाहरु व्यवस्थापन गरिएकोमा यस वर्ष पनि आउँदो जनवरीपछि  निकुञ्जको अनुमतिमा व्यवस्थापन गरिने सचिव गुरौले जानकारी दिनुभयो । उहाँका अनुसार मिचाहा प्रकृतिका झार  र विरुवा नहटाएमा घाँसे मैदान मासिन सक्दछ । 

यसैले दाताहरुको सहयोगमा यस वर्ष  पनि झार व्यवस्थापनको योजना रहेको छ । घासेमैदान व्यवस्थापनका लागि कुनै स्रोत नजुटे उपभोक्ताहरुको सक्रियतामा भए पनि व्यवस्थापन गरिने उहाँले बनाउनुभयो । 
 

अन्तिम अपडेट: चैत १३, २०८०

दयाराम आचार्य

नवलपरासी सुस्ता पूर्वका उज्यालो सहकर्मी दयाराम आचार्य स्थानीय एफएममा पनि कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया