जघन्य अपराधमा संलग्न सबैलाई कडा कारबाही हुन्छ : कानुन मन्त्री ढकाल

 मंसिर ४, २०७५ मंगलबार १३:१८:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – कानुन, न्याय तथा संसदीय मामिला मन्त्री भानुभक्त ढकालले जघन्य अपराधमा संलग्न जोकोहीलाई पनि कडा कारबाही गर्ने चेतावनी दिनु भएको छ । 

मन्त्री ढकालले द्वन्द्वकालका पीडितलाई न्याय दिन ढिलाई नहुने आश्वासन पनि दिनुभयो । विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष पूरा भएको अवसर पारेर मंगलबार काठमाडौंमा आयोजित द्वन्द्वपीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय सहमतिको आधारमा द्वन्द्वकालका पीडितलाई न्याय दिन सरकारले आन्तरिक तयारीको कामलाई तीव्रता दिइरहेको दावी पनि गर्नुभयो ।

मन्त्री ढकालले संविधान, कानुन, सर्वोच्च अदालतको फैसला, मानव अधिकारसम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिवद्धताको आधारमा पनि राज्यले द्वन्द्वकालका पीडितलाई न्याय दिनुको विकल्प नरहेको पनि स्पष्ट पार्नुभयो । उहाँले द्वन्द्वकालका पीडितको माग अनुसार न्यायको व्यवस्था हुने गरी कानुन निर्माण गर्न सरकार लागिपरेको पनि बताउनुभयो ।

मन्त्री ढकालले द्वन्द्वकालीन न्यायका लागि गठित सत्य निरुपण तथा मेलमिलाप आयोगले पनि तोकिएको समयभित्र आफ्नो काम सम्पन्न गर्ने बताउनुभयो । सत्य निरुपण तथा मेलमिलाप आयोगको म्याद आउँदो माघ २६ गते भित्र सकिँदैछ । 

मन्त्री ढकालले तोकिएको समयभित्र आयोगले आफ्नो काम सम्पन्न गर्ने विश्वास व्यक्त गर्नुभयो । कार्यक्रममा द्वन्द्व पीडितहरुले विस्तृत शान्ति सम्झौता भएको १२ वर्ष बित्दा पनि न्याय दिन नसकेको उल्लेख गर्दैै सरकारको चर्को आलोचना गरेका थिए । 
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया