द्वन्द्व पीडितलाई न्याय दिन सरकारले विशेष अदालत खोल्नुपर्छ : नेपाली कांग्रेस

 मंसिर ४, २०७५ मंगलबार १४:१७:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले द्वन्द्व पीडितलाई न्याय दिन विशेष अदालत गठन गर्न सरकारसँग माग गरेको छ ।

नेपाली कांग्रेसका नेता रमेश लेखकले द्वन्द्व पीडितलाई न्याय दिन छुट्टै विशेष अदालतको व्यवस्था गर्न सरकारसँग माग गर्नु भएको हो । मंगलबार काठमाडौंमा आयोजित द्वन्द्व पीडित राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उहाँले पीडितलाई न्याय दिने काममा ढिलाई नगर्न पनि सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभयो ।

नेता लेखकले द्वन्द्वरत पक्षलाई शान्ति प्रक्रियामा ल्याएर नेपालले ठूलो उपलब्धि हासिल गरेको उल्लेख गर्दै अब संक्रमणकालीन न्यायलाई व्यवस्थापन गर्ने काममा ढिलाई गर्न नहुने पनि स्पष्ट पार्नुभयो ।

पीडितलाई परिपूरण गर्ने, पीडिकलाई दण्डित गर्ने काम गरेर सरकारले संक्रमणकालीन न्यायको उचित व्यवस्थापन गर्नुपर्ने नेता लेखकको भनाई छ । कांग्रेस नेता लेखकले पीडितलाई न्याय दिँदा उनीहरुको आत्मसम्मान वृद्धि गर्ने काममा जोड दिन पनि सरकारलाई आग्रह गर्नुभयो ।

अन्तिम अपडेट: चैत २५, २०८०

तपाईको प्रतिक्रिया